सिराहा नगरपालिकामा विवाद : मेयर डा. यादवमाथि कर्मचारी कुटेको आरोप
सिराहा/सिराहा नगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय तहमा हलचल मच्चिएको छ ।
नगरपालिकाका कार्यालय सहयोगी (का.सा.) रामशरण यादवले मेयर डा।नवीन यादवले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै सञ्चारमाध्यममार्फत घटना सार्वजनिक गरेका हुन् ।
पीडित रामशरण यादवका अनुसार, उनी नियमित रूपमा बिहान करिब ९ बजे कार्यालयमा हाजिर लगाउन पुगेका थिए । सोही क्रममा मेयर डा। नवीन यादवले उनलाई ‘तिमी दरबन्दीमा हौ, कि काजमा ?’ भनेर सोधेका थिए। त्यसको जवाफमा उनले आफू काजमै रहेको बताएका थिए ।
राम शरणका अनुसार, त्यसपछि मेयरले हाजिर लगाउन पर्दैन भनेका थिए । तर, उनी आफ्नो कर्तव्यअनुसार हाजिर लगाउन जाँदा मेयर अचानक आक्रोशित भई आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।
घटनापछि उनले न्यायको माग गर्दै सञ्चारमाध्यममा जानकारी गराएका छन् । यस घटनाले कर्मचारी सुरक्षा र कार्यस्थलको वातावरणबारे गम्भीर प्रश्न उठाएको छ ।
हालसम्म मेयर यादवको तर्फबाट यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन । घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।
यस घटनाले सिराहा नगरपालिकाभित्रको आन्तरिक व्यवस्थापन र कर्मचारी–प्रशासन सम्बन्धमा समेत बहस सुरु गराएको छ । न्यूज बैंक

