गाउँमा आएन डिपबोरिङमा पानी
तुलसीपुर,(दाङ)/दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, हालको यातायात कार्यालय नजिक, इन्द्रनगर र साबिक अञ्चल प्रहरी कार्यालय गरी ६ स्थानमा डिपबोरिङ निर्माण गर्नुपर्ने थियो ।
योजनाअनुसार पानी आएन । एउटा बोरिङबाट १० लिटर प्रतिसेकेन्ड पानी आउनुपर्नेमा दुई लिटर प्रतिसेकेन्ड पानी नआएपछि ती स्थानका डिपबोरिङ अन्यत्र सारिएका छन् । पढ्ढामा तीन र बबई नदीको किनारमा दुई डिपबोरिङ स्थानान्तरण गरिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाले बताउनुभयो ।
“हामीलाई १० लिटर प्रतिसेकेन्ड भन्दा बढी पानी चाहिने हो”, उहाँले भन्नुभयो, “तर डिजाइन अनुसारका बोरिङमा दुई लिटर प्रति सेकेन्डसम्म नआउने भयो । त्यसैले हामीले पढ्ढा र बबइ नदीमा डिपबोरिङ खन्यौँ ।”
अबको केही समयमा त्यहाँको पानी तुलसीपुर ल्याउन तयारी छ । बबईमा डिपबोरिङ खनेसँगै डिजाइन परिवर्तन गरी पम्पिङबाट पानी ल्याउनुपर्ने छ । त्यसका लागि अहिले पम्प खरिद गरेर ल्याउँदा करिब तीन÷चार महिना लाग्न सक्ने उहाँले बताउनभयो । त्यहाँबाट ९० लिटर प्रति सेकेन्डभन्दा बढी पानी ल्याउने तयारी छ ।
तीन सम्वेलनसहितबाट बबईको पानी तुलसीपुर ल्याइने छ । अन्य संरचना तयार भइसकेका छन् । पढ्ढामा निर्माण भएका तीन बोरिङबाट भने नयाँ वर्षभित्रै पानी ल्याउने तयारी रहेको आयोजनाका प्रोजेक्ट म्यानेजर हरेन्द्र भट्टले बताउनुभयो । जहाँबाट २४ लिटर प्रतिसेकेन्ड पानी ल्याउने तयारी छ । त्यहाँबाट ल्याएको पानी डुम्रीगाउँको ट्याङ्कीबाट वितरण गरिनेछ ।
खानेपानीका पाइप विस्तारको काम लगभग अन्तिम चरणमा छ । रक्षाचौर क्षेत्रमा स्थानीयले विवाद गरेकाले मात्रै त्यहाँ विस्तार हुन सकेको छैन । त्योबाहेक सबै क्षेत्रमा विस्तार भइसकेको छ । पानी शुद्धिकरणका लागि बबईमा ¥यापिड स्यान्ड फिल्टर, डिप बोरिङ भएका स्थानमा मल्टि ग्रेड प्रेसर फिल्टर निर्माण भएका छन् । सीतलपुरमा आरभिटी कलेक्सन चेम्बर ५०० घन मिटर, इन्टर मिडियट आरभिटी टकी संतनिरङकारी नेर ३०० घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटि ३०० घन मिटर बन्ने, झुमरेमा ५०० घनमिटर र डुम्रीगाउँमा ६०० घनमेटिरका ट्याङ्की बनेका छन् ।
शिखर कोलेनीमा ४५० घनमिटर, मोतिपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० मिटर घनमिटर ओभरहेड ट्याङ्की निर्माण भएका छन् । डुम्रीगाउँमा ६०० घनमिटर र खानेपानी कार्यालय परिसरमा ३०० घनमिटर अन्डरग्राउन्ड ट्याङ्की निर्माण भएका छन् । प्रशारण पाइप लाइन २८।३१५ किलोमिटर हुनेछ, भने पानी वितरण पाइप १२५।७५२ किलोमिटर रहेको छ । त्यस्तै सात वटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस निर्माण भएका छन् । एक वर्षअघि सक्नुपर्ने उक्त आयोजनाको काम पूरा नभएपछि पुनः २०८३ असारसम्म म्याद थप गरी काम अगाडि बढाइएको थियो ।
तुलसीपुर खानेपानीका अहिलेसम्म १० हजार बढी धारा रहेका छन् । अहिले खानेपानीको हाहाकार हुनेगर्छ । पानी पु¥याउनै समस्या हुने गर्छ । त्यसले गर्दा बबईको पानी आएमा त्यो समस्या हल हुने संस्थाका कोषाध्यक्ष थापाले बताउनुभयो । हाल तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी आठ वटा ग्राभेटी मुहान छन् ।
कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेडक्रस परिसरमा भूमिगत मुहान स्रोत रहेका छन् । रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् । रु ५६ करोड ८० लाख २४ हजार ६३० लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो ।
यसमा सरकारले रु ३८ करोड ८३ लाख र उपभोक्ताको रु १७ करोड सात लाख लाग्छ । अहिले उपभोक्ताको तर्फबाट अहिले पाँच प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको छ । नगर विकास समितिबाट रु १४ करोड २२ लाख ऋण लिएको र बाँकी रु दुई करोड ८४ लाख उपभोक्ताले तिरेका छन् । रासस

