Breaking News

सांसदले आ–आफ्ना क्षेत्रका समस्या राख्दै, प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले प्रधानमन्त्री बालेन शाहसँग भएको चरणबद्ध छलफलपछि कोशी प्रदेशका समस्या र समाधानका विषयमा छलफल केन्द्रित भएको बताएका छन् ।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले कोशी प्रदेशका सामूहिक समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए ।

उनका अनुसार प्रधानमन्त्रीले तत्काल समाधान गर्नुपर्ने तथा सम्भव समस्याहरू के–के हुन् र तिनको समाधानका उपाय के हुन सक्छन् भन्ने विषयमा जिज्ञासा राखेको बताए ।

उनले भने, ‘समग्रतामा कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ–आफ्ना समस्याहरुको बारेमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो । उहाँले हामीलाई तत्काल समाधान गर्नुपर्ने र गर्न सकिने समस्याहरु के के हुन् र तिनिहरुको समस्याको समाधानको बाटो के हो ? भन्ने सन्दर्भमा प्रधानमन्त्रीले जिज्ञासा राख्नु भएको थियो । त्यसै विषयमा केन्द्रित भएर सबै सांसदहरुले आफ्नो धारणा राख्ने काम भयो ।’

न्यौपानेले सोही विषयमा केन्द्रित रहेर सबै सांसदहरूले आ–आफ्ना धारणा राखेको जानकारी दिए ।

यसैगरी कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका रास्वपा सांसद खेमराज कोइरालाले कैलाली ४ का समस्या समाधानको सन्दर्भमा प्राथमिकताको आधारमा अघि बढ्ने कुरा भएको बताए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णाली क्षेत्रको विकासमा विशेष ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए । उनले कर्णालीमा सडक विस्तार आवश्यक रहेको उल्लेख गर्दै कर्णाली राजमार्गको स्तरोन्नति र समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही गर्न माग गरिएको बताए ।

उनले भने, ‘कर्णालीमा सडकहरु विस्तार गरिनुपर्छ । हामीले आज कर्णाली राजमार्ग स्तर उन्नती र समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्नका लागि प्रधानमन्त्रीलाई अपिल गरेका छौं । कर्णाली राजमार्ग अन्तरगतको सुर्खेत–दैलेख स्तर उन्नतीको कालोपत्रे गरिदिन र मुगुको रारासम्म कालेपत्रे गरिदिन अपिल गरेका छौं ।’

उनले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख खण्डको स्तरोन्नति गरी कालोपत्रे गर्न तथा मुगुको रारासम्म सडक कालोपत्रे गर्न प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए ।

त्यस्तै, विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा पनि छलफल भएको उनले जानकारी दिए । उनले अघिल्लो सरकारले बिना पर्याप्त अध्ययन विकास आयोजनाको बजेट रोकेको भन्दै आवश्यक स्थानमा बजेट खुला गर्नुपर्नेमा जोड दिए ।

शाहीले समयमै काम सम्पन्न नगर्ने ठेकेदारमाथि कडा कारबाही गर्न, लाइसेन्स खारेज गर्न तथा कालोसूचीमा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए । साथै, पटक–पटक म्याद थप्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

उनले भने, ‘हामीले विभिन्न विकास निर्माणसँग जोडिएका कुराहरुमा छलफल गरेका छौं । प्रधानमन्त्रीलाई अस्तिको पहिलाको सरकारले जसरी विकास निर्माणको सबै कुरा नहेरीकन बजेट रोकिदिएको अवस्था थियो । त्यो खुला गर्नुपर्छ , जहाँ आवश्यकता छ त्यहाँ बजेट रोक्का गर्न मिल्दैन, जहाँ आवश्यकता छैन त्यो बन्द गर्दा हुन्छ । अब जसले समयमै काम गर्दैन ति ठेकेदारलाई कारवाही गर्नुस् । उनीहरुको लाइसेन्स रद्ध गर्नुस्,उनीहरुलाई कालोसूचीमा राख्नुस् । तर पटक पटक म्याद थप्ने प्रवृत्तिको अन्त्य गर्नुस् भनेर प्रधानमन्त्रीलाई भनेका छौं ।’ नयूज बैंक