Breaking News

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

चितवन/सुजता उपरकोटीलाई सानैदेखि देशको सेवा गर्ने चाहना थियो । ४० दिन भएपनि उनले निर्वाचन प्रहरी बन्दै देशको सेवा गर्ने मौका पाइन । शान्तपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेपछि सुजतासहित चितवनमा खटिएका २ हजार ७ सय ६६ निर्वाचन प्रहरी बिहीबार बिदा भए । सेवाबाट बिदाई हुँदै गर्दा उनीहरुले अर्को महत्वपूर्ण मानविय सेवा ‘रक्तदान’ गरेर गए । ‘देशको सेवा गर्ने चाहना बच्च देखि नै थियो, छोटो समयमा देशको सेवा गर्दा म पनि देशको लागि केही गर्न सक्ने रहेछु भन्ने फिल भयो, अहिले बिदाई हुँदै गर्दा रक्तदान गरेर मानविय सेवा गर्न पाउँदा अझै खुशी लाग्यो’–सुजताले सुनाईन । यही सेवालाई अझै निरन्तरता दिन पाएको भए अझै खुशी मिल्ने उनको भनाई थियो ।

निर्वाचन प्रहरीले नै सुवास पंगेनीलाई पहिलोपटक रक्तदान गर्न अवसर मिलायो । निर्वाचन सुरक्षित रुपमा सम्पन्न गर्न आफ्नो जिम्मेवारी निर्वाह गरेका पंगेनीले अन्तिममा आफ्नो जीवनकालकै पहिलो रक्तदान समेत गर्न पाए । ‘जीवनमा पहिलोपटक रक्तदान गर्दै नयाँ अनुभव लिन पाए, सबै अनुभव लिनुपर्छ भन्ने मान्यता राख्छु, निर्वाचन सम्पन्न गर्नमा मेरो पनि योगदान रहेकोमा खुशी छु’–पंगेनीले भने ।

बिदाईको क्षणमा सबैजसो निर्वाचन प्रहरी खुशी देखिन्थे । निर्वाचन सफल भएकोमा आफ्नो जिम्मेवारी पनि कुशलतापूर्वक सम्पन्न भएको महसुस गर्छन प्रेमप्रसाद रिमाल । ‘चुनाव पनि सोचे भन्दा सुरक्षित र राम्रो भयो, देशका लागि पनि सेवा गरियो, जाँदाजाँदै रक्तदान गरेर मानविय सेवा गर्ने मौका पनि मिल्यो । म एकदम खुशी छु साथीहरु पनि खुशी छन्’–रिमालले सुनाए ।
बिदाई कार्यक्रमलाई मानविय सेवामा समर्पित गर्ने काम जिल्ला प्रहरी कार्यालय र ब्लड डोनर्स सोसाईटी नेपालले गरेको थियो । छोटो समयमा १३५ जनाले रक्तदान गरेको सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । उनले यो कार्यक्रमबाट धेरै नयाँ रक्तदाता जोडिएको बताए । ‘अहिले चितवनमा रगत अभाव छ, निर्वाचन प्रहरीलाई रक्तदानमा सरिक गराउँदा रक्तदान बारे थप सचेतना जगाउन सहज भएको छ’–अध्यक्ष अधिकारीले भने ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले निर्वाचन प्रहरीलाई मानविय सेवामा पनि समर्पित गराउन रक्तदान कार्यक्रम गरिएको बताए । ‘करिव ३ हजार निर्वाचन प्रहरीमा रक्तदान बारे सचेतना पुगेका छ, उहाँहरुलाई थप जिम्मेवार नागरिक बनाएको छ’–प्रहरी प्रमुख पुरीले भने ।

निर्वाचन प्रहरीलाई विभिन्न अवसर

चितवनमा निर्वाचन प्रहरीलाई एउटा प्रमाण पत्र मात्र प्रदान गरेर बिदाई गरिएको छैन । उनीहरुलाई उज्जवल भविष्य देखाउँदै आगामि बाटो तय गरिदिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले निर्वाचन प्रहरीलाई आगामि दिनमा बेरोजगार भएर बस्न नपरोस् भन्नका लागि प्याकेज दिएर बिदाई गरिएको छ । ‘आज तपाईहरुलाई बिदाई गरिएको होइन, फेरि भेटौला भनेर प्याकेज ल्याएका छौं, तपाईहरुको भविष्य उज्जवल हुनुपर्छ’–निर्वाचन प्रहरीलाई प्रेरणा दिदै प्रहरी प्रमुख गोविन्द पुरीले भने ।

निर्वाचन प्रहरीको भविष्य उज्जवल र जिम्मेवार नागरिक बनाउन बिदाई कार्यक्रमलाई विशेष बनाईएको पुरीले बताए । उनका अनुसार हातमा सीप भएकाहरुले चितवन उद्योग संघको सहकार्यमा निजी उद्योगहरुमा रोजगारीको प्रबन्ध मिलाईएको छ । निर्वाचन प्रहरीको प्रमाणपत्रको आधारमा उनीहरुको सीप र योग्यताको आधारमा रोजगारीको व्यवस्था मिलाईएको प्रहरी उपरीक्षक पुरीले बताए । यस्तै यो वर्ष सीटीइभीटीबाट करिब एक हजार २ सय जनाका लागि निःशुल्क तालिमको व्यवस्था मिलाईएको छ ।

यी सबै अवसर प्राप्तीका लागि जिल्ला सुरक्षा समितिले छुट्टै सम्पर्क नम्बर र सूचना सार्वजनिक गरिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । ‘निर्वाचन सम्पन्न गराउनमा निर्वाचन प्रहरीको भूमिका निकै महत्वपूर्ण रह्यो, उहाँहरुलाई फेरि बेरोजगार बनाउन हुँदैन भनेर हामीले विभिन्न अवसर व्यवस्थाप गरेका छौं, इच्छुक निर्वाचन प्रहरीले महत्वपूर्ण अवसर प्राप्त गर्न सक्नु हुनेछ ।’

बिदाई कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् नारायणी बहुप्राविधिक शिक्षालय भरतपुर–१० का प्रमुख विज्ञान अधिकारीले अहिले पनि निःशुल्क मन्टेश्वरी र विल्डिङ इलेक्ट्रिसियन तालिमका लागि आवेदन खुलेको भन्दै यो अवसर उपयोग गर्न निर्वाचन प्रहरीलाई आग्रह गरे । उनले निःशुल्क रुपमा आवासीय तालिम समेत हुने भन्दै देशमै रोजगार बन्न निर्वाचन प्रहरीलाई प्राथमिकता साथ तालिममा सहभागि गराउने प्रतिवद्धता जनाए ।

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले अहिले पनि उद्योगहरुमा कामदारको अभाव रहेको भन्दै सीप जानेका दक्ष व्यक्तिहरुलाई रोजगार दिलाउन संघ पहल गर्ने प्रतिवद्धता जनाए । उनले सबै जनाले सरकारी जागिरमा प्रवेश गर्न नसक्ने भन्दै लाखौं मानिसलाई निजी क्षेत्रले रोजगार बनाएकोमा निर्वाचन प्रहरीलाई पनि प्राथमिकताका साथ रोजगार दिलाउन लागि पर्ने प्रतिवद्धता जनाए ।