रवीन्द्रको हारको ह्याट्रिक
काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हारको ह्याट्रिक बनाएका छन् । काठमाडौँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शना फराकिलो मतान्तरले विजयी हुँदा मिश्र निकटतम प्रतिद्वन्द्वी पनि बन्न सकेनन् ।
दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरे ।
तेस्रो स्थानमा रहेका मिश्रले जम्मा तीन हजार ९७२ मतमा चित्त बुझाए । २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशन सिंह विजयी भएका थिए ।
सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार ११ मत प्राप्त गरेका थिए । त्यतिबेला उनी १३२ मतान्तरले पराजित भएका थिए । २०७४ सालमा कांग्रेसका सिंहले नै विजयी भएका थिए । सिंह १० हजार ९३६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी विवेकशील साझाका उम्मेदवार मिश्रले १० हजार ११८ मत प्राप्त गरेका थिए ।
योपटक दर्शनाले मिश्रसँग राम्रो बदला लिएकी छिन् । वैकल्पिक राजनीतिको सुत्रधार विवेकशील नेपालीबाट राजनीतिमा आएकी दर्शना २०७४ सालमा मिश्र नेतृत्वको साझा पार्टीसँग एकता गरी विवेकशील साझा पार्टी बनाएका थिए ।
पार्टीका संयोजक रहेका उनले २०७९ को मुखैमा पार्टीको राजनीतिक प्रतिवेदनमा राजतन्त्रसम्बन्धी प्रस्ताव ल्याएपछि दर्शना सहित सहसंयोजक मिलन पाण्डेले विद्रोह गरेका थिए । पछि मिश्र राप्रपा प्रवेश गरी काठमाडौँ १ बाट टिकट हात पारे ।
दर्शना २०७९ सालको निर्वाचनमा काठमाडौँ–५ बाट उम्मेदवार बनेकी थिइन् । तर अपेक्षाकृत नजिता ल्याउन सकिनन् । २०७४ सालमा विवेकशील नेपालीबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार रहेकी उनले २३ हजार बढी मत ल्याएर चर्चामा आएकी थिइन् । दर्शना निर्वाचन अगाडि मात्र रास्वपा प्रवेश गरेकी थिइन् ।

