मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?
काठमाडौं/प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को अवसरमा लागू भएको निर्वाचन मौन अवधिमा के–के गर्न नहुने विषयमा निर्वाचन आयोगले स्पष्ट निर्देशन जारी गरेको छ ।
निर्वाचन मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा मतदाताले प्रचारप्रसार र सभा–समारोहमा रोक, मतदान केन्द्र वरिपरिको शान्ति भंग गर्ने, भय वा त्रास सिर्जना गर्ने काम नगर्नेलगायत अन्य क्रियाकलाप गर्न रोक लगाएको छ ।
आयोगले मतदानको पक्ष वा विपक्षमा सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, अन्तरक्रिया गर्न रोक, सार्वजनिक भोज, जुलुस, नाचगान, बाजा बजाउने, हुलहुज्जत वा होहल्ला गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट प्रचारप्रसार सामग्री पोष्ट-सेयर-गराउन नहुने, साउण्ड सिस्टम वा अन्य कुनै माध्यमबाट मत माग्न नहुने, मतदान प्रारम्भ ३ घण्टा अघिदेखि मतदान समाप्त नभएसम्म मतदाता वा मतदान कर्मचारीलाई बाधा पुर्याउन नहुने, मतदाता प्रवेश रोक्ने, बाटो छेक्ने वा मतदानमा अवरोध पुर्याउने काम नगर्ने, मतपत्र, मतपेटिका वा निर्वाचन सामग्री चोरी, कब्जा, नष्ट, खोल्न नहुने, उम्मेदवार वा प्रतिनिधिले मतदातालाई मतदान गर्न वा नगर्नको लागि नगद, उपहार, पुरस्कार वा भोज दिने/गराउने निषेध, मतदाताले पनि यस्तो नगदरजिन्सी लिन वा भोजमा सहभागी हुन नहुने आयोगले जनाएको छ ।
आयोगले उल्लङ्घनको सजाय समेत तोकेको छ । एउटै निर्वाचनमा दोहोरो मतदानमा २५ हजार रुपैयाँसम्म जरिवाना, मतपत्र/मतपेटिका कब्जा वा नष्ट गरे १ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद, नगद वा जिन्सी लेनदेनको अपराधमा २५–५० हजार रुपैयाँसम्म जरिवाना, ६ महिना–१ वर्षसम्म कैद वा दुवै सजाय हुने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा यी नियमको कडाईसँग पालन गरे निर्वाचन प्रक्रिया निष्पक्ष, सुरक्षित र शांतिपूर्ण हुने भन्दै निर्वाचन आयोगले मतदातासँग अपील समेत गरेको छ । न्युज बैंक

