रेनु दाहालको पदावली फेरिएपनि, फेरिएको छैन विकासवादी सोच

भरतपुर महानगनरको मुहार फेर्न सफल विकासवादी नेतृ रेनु दाहालको पदावली फेरिएको छ । केही दिन अगाडि सम्म भरतपुर महानगरपालिका प्रमुख (मेयर) पदमा रहेकी उनी निवर्तमान मेयर बनेकी छन् । महानगरपालिकामा रहँदा उनले अति मिलनसार मेयर, विकास प्रेमी मेयर, सहज पहुँचमा भेटिने जनप्रतिनिधिको रुपमा बहुआयामिक परिचय बनाएकी थिइन । महानगरपालिकाको दुई कार्यकाल मेयर भएकी दाहालले पछिल्लो कार्यकाल पुरा हुन नपाउँदै पदबाट राजीनामा दिइन् । यतिवेला उनी संघीय साँसदको तयारीमा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दर्ता गरेकी छन् । स्थानीय सरकार प्रमुखबाट विदाई र संघीय साँसदको सदस्यको लागि आवेदन दिंदै गर्दा उनले व्यक्त गरेका अभिव्यक्तिका मुख्यमुख्य बुँदाको आधारमा तयार पारिएको सार संक्षेप ।

चितवनको शिवनगरमा जन्मिए पनि लामो अन्तराल पछि चितवनमै केही गरौं भन्ने हुटहुटीले भरतपुर महानगरपालिका प्रमुखको निर्वाचनमा होमिएकी दाहाल महानगरको वर्तमानमा रम्दैगर्दा पुरानो याद सम्झन्छिन । भन्छिन, ‘साँच्चै भन्ने हो भने मलाई भरतपुर महानगरका धेरै ठाउँहरुको नाम समेत आउदैनथ्यो । सानोमै चितवनबाट टाढा भइयो । कार्यक्षेत्र पनि बाहिर बाहिर नै भयो ।’

नौ वर्ष अगाडि देश भरखरै मात्र पुन संरचना भएको थियो । भरतपुर उपमहानगरपालिका बाट स्तर उन्नती गरिएको थियो । उप महानगरपालिका बाट केही थप क्षेत्र समेटेर नाम महानगरपालिका बनाइएको थियो । महानगरपालिकामा हुनुपर्ने मापदण्ड मध्ये विमानस्थल र विश्वविद्यालय बाहेक अन्य मापदण्ड थिएनन् । मात्र राजनीतिक दलहरु बीचको सहमति थियो, भरतपुरलाई महानगरपालिका बनाउने । भरतपुर लाई महानगरपालिकामा परिणत गरियो । धुलाम्मे, खाल्डाखुल्डीयुुक्त सडक, किचिएको मिचिएको अव्यवस्थित पूर्वपश्चिम राजमार्ग शहरको मुहार साँच्चै भन्नुपर्दा आकर्षक थिएन । अहिले महानगर क्षेत्रको मुहार फेरिएको छ ।

पूर्व महानगर प्रमुख विकासवादी नेतृले भन्छिन ‘म भरतपुर महानगरपालिकाको नगरप्रमुख बनेको करीव ९ वर्ष भयो । वितेको ९ वर्षमा हिजोको भरतपुर कस्तो थियो र आजको भरतपुर कस्तो बनेको छ भन्ने कुरा म आफुले बताइरहनु पदैन होला ।’

२०७२ साल असोज ३ गते नेपालले नयाँ संविधान पायो । राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्रिक मुुलक एकाएक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत भयो । देश संघीय संरचनामा गइसकेपछि २०७४ वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा पहिलोपटक निर्वाचन हुँदै थियो । भरतपुर महानगर प्रमुख पदमा उम्मेद्वारी दिंदै गर्दाको स्मरण गर्दै विकासवादी नेतृ दाहाल भन्छिन, ‘ मैले नगर प्रमुख पदमा उम्मेदवारी दिएर निर्वाचन प्रसारप्रसार गर्न जाँदाका दिनहरूको स्मरण अझै पनि ताजै छन् । वैशाखको महिना भएकोले गर्मी निकै थियो । उखरमउलो गर्मीले पश्चिम चितवन सुख्खा थियो, मकैंका बिरुवाहरू सुक्न थालेका थिए । नजिकै नारायणी बगिरहेको छ, बर्खामा मात्रै पानी आउने नहर त थियो, तर हिउँद र गर्मीमा सधै सुख्खा ।’

त्यस बखत महानगरको मुख्य शहरी क्षेत्रमा कालोपत्रे सडक भएपनि कालोपत्रे नाममात्रको थियो । पूर्व पश्चिम राजमार्ग र वाईपास सडकको अवस्था समेत ज्यादै नाजुक थियो । अन्य सडकहरु सबै धूलाम्य थिए । विद्यालय भवनहरू जीर्ण थिए । स्वास्थ्य सेवा भरतपुरको कोर क्षेत्रमा सिमित थियो । किसानहरू दूध विक्री नभएर सडकमा पोख्थे । पशुपालनमा जाँगर थिएन । जनता आर्सेनिक मिसिएको पानी खान विवस थिए । विद्यालय जाने उमेर समूहका कतिपय बाबुनानी विद्यालय जाँदैनथे । बाढीले उठिवास लगाएर बगाउने त्रास नारायणी नदी तटका जनतामा थियो । मध्यवर्ती आसपासका जनताका मनमा जंगली जनावरको डरले सधै पिरोलीरहन्थ्यो ।

निर्वाचनको क्रममा जनताको घर दैलो गर्दाको अवस्था सम्झाना गर्दै उनी भन्छिन, ‘जनताको घरदैंलो गर्दैगर्दा यि र यस्ता समस्याहरूले मेरो मथिङ्गल हल्लाउथ्यो । ती दिन सोच्दा पनि कहाली लाग्दा थिए । समस्याको चाङ थियो । समाधान चुनौतीपूर्ण थियो । म भरतपुरमै जन्मिएको, यहीँको माटोमा मेरो नाँभी गाँडिएको एक छोरी हुनुको नाताले यहाँको विकासका लागि मैंले केही गर्नु थियो । चुनौतीहरूको सामना गर्ने अवसर पनि प्राप्त भयो ।’

विशाल भवन :

२०४३ सालमा बनेको पुरानो र जीर्ण भवनलाई जसोतसो मर्मत गरेर केही संरचना थपेर महानगर सञ्चालन हुँदै आएको भरतपुर महानगरमा देशकै स्थानीय तहको सबै भन्दा विशाल भवन ठडिएको छ । सात कठ्ठा जमिनमा बनेको छ तले भवनमा २५० जना र ३५० जना क्षमताको दुई वटा ठुला हल, विभिन्न महाशाखा, शाखाका लागि साना ठुला गरि १५८ वटा कार्यकक्ष र आठ वटा साना मिटिङ हल, जेष्ठ नागरिक प्रतिक्षा कक्ष, सांस्कृतिक प्रदर्शनी कक्ष, पुस्तकालय, सेवाग्राही विश्राम कक्षहरु गरी यस भवनमा जम्मा २२१ कोठाहरू छन् ।

एक हजार किलोमिट कालोपत्रे :

हिजोका दिनमा कालोपत्रे पिचमा सरर हिड्न पूर्व पश्चिम राजमार्गमा नै आउनुपर्ने वाध्यता थियो । हिजो कालोपत्रे सडक खोज्नुपर्दथ्यो, अहिले कालोपत्रे सडक कहाँ छैन खोज्नुपर्ने अवस्था आएको छ ।

वितेको नौ वर्षमा पुर्व पश्चिम राजमार्गको पुलचोक गोन्द्राङ व्यूटिफिकेशन सहित छ लेन सडक बनेको छ । वाईपास सडकलाई पनि विस्तार एवं सौदर्यकरण गरिएको छ । महानगरका विभिन्न भागमा एक हजार ७२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । साँघुरा सडक र फराकिला र कालोपत्रे भएका छन् । सडकहरुमा आनुनिक प्रकृतिका सडकवत्ती राखिएका छन । भरतपुर उज्यालो शहर बनेको छ । मुख्य बजार र राजमार्ग क्षेत्रको २३ किलोमिटर सडकमा विद्युत तारलाई भूमिगत गरिएको छ । ८८ दशमलब ६ कि.मी.चक्रपथ (रिङरोड) निर्माण गरिएको छ । नारायणी नदीमा तटबन्ध गरेर समस्याको दीर्घकालिन समाधान गरिएको छ । तटबन्ध गरिएको ठाँउहरु भोलीका दिनमा पर्यटकीय केन्द्र बन्न सक्ने आधार तयार भएको छ ।

खोलाको सौदर्यकरण :

फोहरले भरिएका र अतिक्रमणको चपेटामा परेका पुङ्गी खोला र केरूङ्गा खोला सौन्दर्यकरणले चिटिक्क परेका छन् ।

सिंचाई सुविधा विस्तार :

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका क्षेत्रमा ३६ किलोमिटर लामो मेसजाली निर्माण गरेर जनतालाई सुरक्षित राख्ने काम गरिएको छ । बर्खामा मात्रै पानी आउने नारायणी लिफ्टमा हिउँद र गर्मीको समयमासमेत पानी तानेर किसानका खेतवारी पठाउने काम गरिएको छ । बोरिङ तथा स्यालो ट्युबवेलबाट भरतपुरमा झण्डै ८ हजार विगाहा जमिनमा सिँचाई सुविधा पुगेको छ ।

कृषि र पर्यटन :

नेपालमै पहिलो पटक दूध उत्पादक किसानले प्रति लिटर दूधमा ४ रुपैयाँ अनुदान दिने व्यवस्था महानगरले गरेको छ ।
महानगरले पर्यटन पूर्वाधारमा पनि लगानी गरेको छ । पटिहानीमा अब्रेला स्ट्रिट, स्टोन पार्क, भरतपुर–१३ देवनगरमा वन्यजन्तु उद्धार केन्द्र स्थापना, ऐतिहासिक महत्वको दियालो बंगला दरबार खोल्ने काम भएसँगै पर्यटकीय नयाँ गन्तब्य थपिएका छन् । यसले स्थानीय आयआर्जन र रोजगारी सिर्जनालाई बढाउन सहयोग गरेको छ ।

राष्ट्रिय गौरवको परियोजनाका रूपमा भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । पहिलो चरणको ७८ करोड ५० लाख रूपैयाँको लागतमा १० हजार जना दर्शक क्षमताको प्याराफिट निर्माणको काम भइरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा निर्माण भैरहेको यो परियोजना विकासको नयाँ मोडल (अवधारणा) बन्न पुगेको छ ।

विकासको हुटहुटी :

चाहदा चाहँदै पनि व्यवस्थित फोहर विसर्जन केन्द्र र भरतपुर विमानस्थलको रनवे विस्तारको लागि गरिएको पहल पुरा गर्न सकिएको छैन् । सिटी हल निर्माणको काम पुरा हुन सकेको छैन् ।

विकासको काममा चितवन विशेषत भरतपुरवासीले राजनीति भन्दा पनि माथि उठेर आफुले आँटेका काममा साथ दिएको सम्झदै दाहाल जनताको भावनाको उच्च कदर गर्छिन । उनकै भनाईलाई आधार मान्ने हो भने, महानगरको नौ वर्ष कुनैपनि विल पास गर्दा समस्या परेन् । जे जति निर्णयहरु गरिन्थे सबै सर्वसम्मतिमै भए । जवकी दुबै कार्यकालमा पार्टीगत रुपमा उनको पार्टी अल्पमतमै थियो । त्यसैले होला भनी भन्छिन, भरतपुरवासी जनताको अगाध, माया, स्नेह र सहयोगले वितेको ९ वर्षमा भरतपुर गौरव गर्न लायक ठाउँमा पुगेको छ । भरतपुरको विकास र सम्मृद्धिको चर्चा आज राष्ट्रिय रूपमा भएको छ। भरतपुरले अन्तर्राष्ट्रिय रुपमा पनि विश्वका विभिन्न देशका शहरहरुसँग आफ्नो सम्बन्ध जोडेको छ । यी सब उपलब्धीहरुको सबै आम भरतपुरवासी बधाईका हकदार हुनुहुन्छ ।

मैंले भरतपुरको विकासको लागि आफ्नो जीवनको महत्वपूर्ण करीव १ दशक समय खर्चिएको छु । मेरा आफ्ना नीजि चाहाना र विषयहरूलाई पन्छाएको छु । हर समय, अविरल, अनवरत र निरन्तर भरतपुर कै विकास र यहाँका जनताको सुखदुःखमा आफूलाई एकाकार बनाएको छु । त्यसको अनुभूति भरतपुरवासीले पक्कै गर्नुभएको छ भन्ने विश्वास मैंले लिएको छु । मलाई भरतपुरको मायाले काठमाण्डौं बस्न दिन्थेन, न त नीजि काममा रमाउन नै । सारा समय नै भरतपुरको उन्नती, प्रगति, सम्वृद्धि र विकासका लागि खर्चिएकोमा मलाई गर्वको अनुभूति हुने गरेको छ । यि पलहरु मेरो जीवनमा सधैं स्वर्णीम रहनेछन । बदलिएको भरतपुर, विकसित भरतपुर, सम्बृद्ध, हरियाली र उज्यालो भरतपुर आज हामीले पाएका छौं । यतिवेला भरतपुर महानगरपालिका देशका छ वटा महानगरपालिकामा विकासको दृष्टिकोणले सबै भन्दा अग्रणी अवस्थामा छ । भलै कतिपय काम चाहेर पनि पुरा हुन सकेका छैनन् ।

देश कै मध्यभागमा रहेको भरतपुर महानगरपालिका विकास, सम्वृद्धि र सुशासनका दृष्टिले चर्चामा छ । एक गौरव गर्न लायक महानगरपालिका, भरतपुर बनाउन यहाँका महानगरवासीको उत्तिकै योगदान, साथ र समर्थन रहेको छ । हरेक भरतपुरवासीको आशा र विश्वासले रेनु दाहालले भरतपुरलाई देशकै अग्रणी महानगर बनाइन । सबैसबैलाई अभियानमा सहभागी गराउन सफल भइन् ।

एउटा जनप्रतिनिधिमा हुनुपर्ने त्याग समर्पण र केही गर्नु पर्छ भन्ने हुटहुटी रहेकी दाहालको जनप्रतिनिधिको रुपमा मेयर नाम फेरिएर निवर्तमान मेयर भएपनि उनको विकासवादी सोच फेरिएको छैन् । नतिजामा विश्वास राख्ने, जनताको अपार विश्वासकी पात्र विकासवादी नेतृ दाहालले भरतपुरको विकासमा गरेको योगदान महत्वपूर्ण छ । मेयर बाट पदावली बदलिएर निवर्तमान मेयर भएपनि विकासवादी नेतृको रुपमा स्थापित उनकोे न बदलिएको छ परिचय, नत बदलिएको छ सोेच नै । बरु भरतपुरको यो नमूना जस्तै समग्र चितवनलाई उकास्ने हुटहुटीले संघीय संसदको रुपमा नीति निर्माण तहमै पुगेर देश विकासको सपनालाई विपनामा बदल्ने मार्गमा लागेकी छन् । सफल होस् निवर्तमान मेयर एवं विकासवादी नेतृ रेनु दाहालको सपना ।