चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन/आगामी फागुन २१ प्रतिनिधि सभा निर्वाचनका चितवनमा ३४ मतदान केन्द्र थप गरिएको छ । स्थानीय तह तथा जिल्ला स्तरबाट आएको सिफारीसका आधारमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनमा हाल १ सय ६२ मतदान स्थल र ४ सय ९४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिए । यसअघि २०७९को निर्वाचनमा जिल्ला ४ सय ६० वटा मतदान केन्द्र रहेको थियो । यी मतदान स्थलबारे जिल्ला सुरक्षा समितिले २५ वटा मतदान स्थललाई अति संवेदनशिल रहेको जानकारी दिएको छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, ४४ संवेदनशिल र ९३ वटा अति सम्बेदनशिल स्थान तोकिएको छ । ‘भूगोल, मतदाता संख्या, विगतमा घटेका घट्ना र अहिले हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा व्यवस्था गरेका छौँ’, अर्यालले भने ।

जिल्लामा एकीकृत सुरक्षा योजना बनाएको बताउँदै उनले चितवनका मतदातालाई ढुक्क भएर मतदान गर्न समेत अनुरोध गरे । ‘हामीले पहिलो घेरामा नेपाल प्रहरी परिचालन गरेका छौँ । त्यसपछि ससस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिन्छन्,’ उनले भने ‘मतदानलाई व्यवस्थित बनाउन सबै सुरक्षाकर्मीलाई तालिम प्रदान गरेका छौँ । कुनैपनि आशंका गर्नुपर्ने अवस्था छैन । ढुक्क भएर मतदान गर्न अनुरोध गर्दछौँ ।’

निर्वाचन समपन्न गर्नका लागि कर्मचारीलाई आवश्यक तालिम र मतदातालाई मतदाता शिक्षा अभियान सञ्चालन गरिसकिएको छ । ‘सबै स्थानीय तह ७मा नै निर्वाचन सम्पर्क व्यक्तिलाई निर्वाचन शिक्षा स्वयम् सेवकको कार्यको अनुगमन कर्ता तोकिएको छ,’ जिल्ला निर्वाचन अधिकारी कार्कीले भने ‘९८ वडाका लागि मतदाता शिक्षा स्वयम् सेवकको विवरण संकलन गरी नियुक्ति दिएर मतदाता शिक्षा स्वयम् सेवकहरु परिचालन गरेका छौँ ।’ ३७ प्रकारका निर्वाचन सामग्रीहरु जिल्लाबाट खरिद गरिएको छ । १४ प्रकारका सामाग्री आयोगले व्यवस्था गरेको बताइएको छ ।

यस्तै निर्वाचन समपन्न भएपछि मतगणना स्थलको तयारी पनि गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार मतगणना स्थलमा तारबार सहित सिसिक्यामेरा जडानको तयारी हुँदैछ । चितवनमा क्षेत्र नम्बर १को मतगणना खैरहनीको भवानी शंकर कलेज, क्षेत्र नम्बर २मा उद्योग संघको प्रदर्शनी केन्द्र र क्षेत्र नम्बर ३मा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मतगणना हुनेछ ।

चितवन जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको छन् । त्यसमध्ये २ लाख २४ हजार ७६६ महिला, २ लाख १७ हजार ३१४ पुरुष मतदाता र २ जना अन्य मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । यस्तै ३१ सय ८५ जना अस्थायी मतदाता रहेका छन् । त्यसमध्ये १६२ जना कारागारमा रहेका कैदिबन्दी हुन् । उनीहरुले समानुपातिक तर्फ मात्र मत खसाल्न पाउनेछन् ।

यसैविच चितवन जिल्लाका ३९ उम्मेद्वारले बैंक खाता खोल्नका लागि जिल्ला निर्वाचन कार्यालय चितवनबाट सिफारिस लगेका छन् । जिल्लामा रहेका ६४ उम्मेद्वारमध्ये २१ जना उम्मेद्वारले बंैक खाता खोलेको जानकारी समेत निर्वाचन कार्यालयलाई दिएका छन् । यसैविच १२ राजनीतिक दलले आफ्नो घोषणा पत्र बुझाएका छ्न् ।