सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँः सभापति थापा

गलकोट,(बागलुङ)/नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत सङ्गठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताउनुभएको छ ।आज यहाँ बागलुङ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै सङ्गठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गर्नुभयो ।

सभापति थापाले सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी र आक्षेप नलगाई कार्यकर्ताको घरमा पुग्न र अबको पाँच वर्ष खेर नफाल्नेमा आश्वस्त पार्न आग्रह गर्नुभयो ।

“कांग्रेस एउटा सङ्कल्प र प्रतिज्ञा गरेर आएको छ, त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक छ । त्यसको आधार र कारणबारे बताउनुस् । यो पाँच वर्ष जोखिमपूर्ण ढङ्गले बनाइएको संविधान बचाउने र सहर तथा गाउँलाई जोड्नुपर्नेछ”, उहाँले भन्नुभयो, “सम्हाल्दै, सुधार्दै र अघि बढ्दै जाने तागत कांग्रेससँग मात्रै छ । मतदाताको बीचमा गएर यो कुरा भन्नुस् । खुलेर पार्टीको ‘भिजन १०’ का बारेमा बुझाउनुहोस् ।”

कांग्रेस युवाहरूको मागअनुसार रूपान्तरण भएको बताउँदै सभापित थापाले अनुभवी र बदलिएको यही कांग्रेसले अब युवाहरूको भावनालाई सम्बोधन गर्ने बताउनुभयो । रासस