शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

काठमाडौं/निर्वाचन आयोगले दुई उमेदवार र एक पार्टीलाई २५ हजार जरिबाना गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघनमा जरिबानाको निर्णय भएको आयोगका कानुन अधिकृत मोहन जोशीले जानकारी दिए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जाजरकोट–१ का उमेदवार शक्ति बस्नेतलाई आयोगले २५ हजार जरिबाना गराएको हो । पूर्वमन्त्री बस्नेतले निर्वाचन क्षेत्रमा पैसा बाँडेको उजुरी परेको थियो ।

त्यस्तै, रुपन्देही–२ का उमेदवार डा कमल भुसाललाई पनि २५ हजारको जरिबानाको निर्णय भएको छ । उनी निकोलसका नामबाट चर्चित छन् । भुसाल नेपाल जनसेवा पार्टीका उमेदवार हुन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई पनि २५ हजार जरिबाना तोकिएको छ । भक्तपुर–२ का नेपाल जनसेवा पार्टीका उमेदवार जानुका पाठक र बाँके–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार खगेन्द्र सुुनुवारलाई आयोगले सचेत गराउने निर्णय गरेको छ ।