उदयपुरका थापाले गरे अमेरिकामा आफ्नै छोरी र श्रीमतीको हत्या, प्रहरीले गर्यो इन्काउन्टर
काठमाडौं/उदयपुर बेलका नगरपालिकाका एक बुबाले अमेरिकामा आफ्नै छोरी र श्रीमतीको हत्या गरेका छन् भने आक्रमणबाट ज्वाइँ गम्भीर घाइते भएका छन् । अमेरिकाबाट सञ्चालित समाचार पोर्टल नेपयोर्कका अनुसार, फेयरफ्याक्स काउन्टी, भर्जिनियामा सोमबार बिहान यो घटना भएको हो ।
मिलन भनिने ५० वर्षे छत्रबहादुर थापाले पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र १० इन्च लामो धारिलो हतियार प्रयोग गरी आफ्नी श्रीमती बिन्दा र छोरी ममताको ज्यान लिएको आरोप छ । स्थानीय समयअनुसार बिहान करिब ५ः१५ बजे घरेलु हिंसासम्बन्धी सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ पुगेपछि प्रहरीले देखेको दृश्यलाई फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले ‘कल्पना गर्न नसकिने अत्यन्त भयावह र हृदयविदारक’ भनेर वर्णन गरेका छन् ।
थापाका ज्वाइँ ३५ वर्षे सन्तोषकुमार बस्नेतले बाहिर गाडीबाट हिउँ हटाउँदै गर्दा घरभित्रको कोलाहल सुनेपछि ९११ मा फोन गरेका थिए । हतारिँदै भित्र पस्दा उनले आफ्नी ३१ वर्षीया श्रीमती ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रगतले लतपत अवस्थामा भेट्टाएका थिए ।
त्यसपछि थापाले ज्वाइँ बस्नेतमाथि पनि आक्रमण गरे, जसका कारण बस्नेत गम्भीर घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रहरीले थापालाई बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा भेटेको थियो । पटक–पटक हतियार छोड्न आदेश दिए पनि नमानेपछि प्रहरीले गोली चलाएको थियो, जसबाट घटनास्थलमै थापाको मृत्यु भएको छ ।
घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल छन् । अनुसन्धानकर्ताहरूले परिवारसँग सम्बन्धित कुनै अघिल्लो आपराधिक इतिहास वा प्रहरीमा दर्ता उजुरी नभेटिएको बताएका छन् । डीभीमार्फत गएकी छोरीले दसैँपछि आफ्ना बुबा र आमालाई अमेरिका घुमाउन लगेकी थिइन् ।
यस दुःखद हिंसाको कारणबारे अनुसन्धान जारी रहेको छ र प्रहरीले आफन्तहरूसँग सम्पर्क गरिरहेको जनाएको छ । यो घटना जुन ५, २०२५ मा भएको अर्को भयावह घटनापछि आएको हो, जसल मानासस पार्क समुदायलाई स्तब्ध बनाएको थियो । त्यहाँ एक नेपाली परिवारका चार सदस्य मृत फेला परेका थिए, जुन प्रारम्भिक रूपमा हत्या–आत्महत्या भएको आशंका गरिएको थियो ।

