भक्तपुर निर्वाचनः विकासका एजेण्डा लिएर मतदाताको घरदैलोमा उम्मेदवार
भक्तपुर/मुलुक यही फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको पूर्ण तयारीमा छ । मतदानका अब केही दिनमात्र बाँकी रहँदा देशभर निर्वाचनको माहोल बनिरहेको छ । यही चुनावी मेसोमा भक्तपुर जिल्ला पनि तातेको छ ।
प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुरका दुई निर्वाचन क्षेत्रमा केही पुराना र धेरैजसो नयाँ अनुहार उम्मेदवार छन् । जिल्लाका दुईवटै निर्वाचन क्षेत्रका सबै राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार पनि प्रचारप्रसारमा निकै जुटेका छन् । उम्मेदवारहरुले आ–आफ्ना चुनावी एजेण्डा, योजना तथा कार्यक्रमहरु लिएर आफ्ना घरदैलोमा आउन थालेपछि यहाँका मतदाता पनि उत्साहित भएका छन् ।
भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल चौथोे पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिनुभएको छ । फागुन २१ गते हुने निर्वाचनमा क्षेत्र नं १ का लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिँदा सुवाल पुराना अनुहारका रुपमा परिचित हुनुहुन्छ ।
भक्तपुर क्षेत्र नं १ मा २०४८, २०५१, २०५६, २०६४ र २०७० मा अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै निरन्तर प्रतिनिधिसभा सांसदमा अत्याधिक मतले निर्वाचित हँदै आउनुभएको थियो ।
विसं २०७४ मा भिन्न बिजुक्छेले पार्टीमा पुस्तान्तरण गर्नुपर्छ भन्दै उम्मेदवारी नदिने निर्णय गरेसँगै नेमकिपाबाट सुवालले २०७९, २०७४ र २०७८ सालको निर्वाचनमा यही क्षेत्रबाट भारी मतान्तरणले निर्वाचित हुनुभएको थियो ।
यसअघि २०७९ को प्रतिनिधिसभाका निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवालले ४२ हजार ७६१ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार ९६८ मत ल्याउनुभएको थियो । सो निर्वाचनमा ३० हजार ७९३ मतको मतान्तर रहेकाले यस पटकको निर्वाचनमा पनि भक्तपुर क्षेत्र नं १ मा पहिलो पार्टी हुने दाबी सो पार्टीको छ ।
समाजवादी व्यवस्था स्थापना, नागरिकता नीतिमा कडाइ, भ्रष्टाचारविरुद्ध कठोर कानुन र शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने मुख्य एजेन्डा रहेको नेमकिपाका उम्मेदवार प्रेम सुवालले जानकारी दिनुभयो ।
निर्वाचनबाट मात्र समाजवाद नआउने, संसद्लाई प्रधानमन्त्री केन्द्रित संस्था नभई जनताको पीडा बुझ्ने, देशको रक्षा गर्ने र आवश्यक नीति तथा कानुन निर्माण गर्ने जनप्रतिनिधिमूलक सदन बनाउने प्रतिबद्धता लिएर जनतामाझ गएको बताउँदै उहाँले नेमकिपाले जन्मको आधारमा नागरिकता पाएका विदेशीका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था खारेज गर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने र ठूला भ्रष्टाचारीलाई ज्यान सजायसम्मको व्यवस्था गर्नुपर्ने, संसद् र राज्य संयन्त्रलाई ‘सुविधा खोज्ने संस्था’ बन्न नदिन कानुनी सुधार गर्ने नीति लिएर मतदातामाझ गएको बताउनुभयो ।
उता यो निर्वाचनमा आफूहरु अघि आउने भन्दै नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचार तिब्र पारेका छन् । नेकपा एमालेबाट यो निर्वाचनमा सोमप्रसाद मिश्रले उम्मेदवारी दिनुभएको छ । एमालेको अघिल्लो कार्यकालको केन्द्रीय सदस्य, भक्तपुर इन्चार्जको जिम्मेवारी सम्हालिसक्नु भएका मिश्रले यसअघिको स्थानीय तहको निर्वाचनमा भने चाँगुनारायण नगरपालिकाको नगर प्रमुखमा विजयी भई पाँच वर्ष स्थानीय तहको प्रतिनिधित्वका रुपमा आफूलाई उभ्याउनुभएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट नेपाल बार एशोसिएसन भक्तपुरका पूर्व अध्यक्ष एवं अधिवक्ता किरण न्यौपाने उम्मेदवार हुनुहुन्छ । नेमकिपाले नगरबाहेक बाहिरको क्षेत्र नं १ लाई नहेरेको, विकासमा विभेद गरेको भन्दै जनताले नयाँ स्वरुपमा आएको कांग्रेसलाई विश्वास गरेर विजयी बनाउने दाबी उहाँको छ ।
भक्तपुरमा रास्वपाका उम्मेदवार रुकेश रञ्जित पनि हुनुहुन्छ । चुनाव जित्नका लागि भक्तपुर बाहिरको मत पनि लिने तर जितेपछि भने फर्केर गाउँ नजाने यसअघिको प्रबृत्तिमा आफूले परिवर्तन ल्याउने दाबी उहाँको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अधिवक्ता हरिराम लवजुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दोश्रो पटक उम्मेदवार हुनुभएका भरतबहादुर खड्काको पनि आफूहरु विजयी हुने दाबी छ । उहाँहरुले पनि यसअघिको परम्परा तोड्दै यसपटकको नर्वाचनमा परिवर्तन ल्याइने बताउनुहुन्छ ।
भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवारी दिएकामा उज्यालो पार्टी नेपालबाट रमेश बल्ल, आम जनता पाटीबाट देवेन्द्र ठाकुर, राष्ट्रिय जनमोर्चाबाट ईश्वरीप्रसाद पैयानी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट श्यामसुन्दर शिल्पकार, नेकपा (संयुक्त) बाट दामोदर पाण्डे, नेकपा (माओवादी) पार्टीबाट चन्द्रमान कोजु, मितेरी पार्टी नेपालबाट सावित्री न्यौपाने, नेपालका लागि नेपाली पार्टीबाट दीपक पोखरेल, श्रम संस्कृति पार्टीबाट विष्णुहरि न्हिसुतु, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रवि खाईजु पनि चुनाबी मैदानमा हुनुहुन्छ ।
त्यस्तै स्वतन्त्रतर्फका उम्मेदवारहरु सुजिता बुढाथोकी, विष्णुराम दुमरु, राजेश्वरी प्रजापति, सुदिप न्यौपाने, पुण्यराम सुवाल, राजु श्रेष्ठ, दशरथ थापा, सुरेश कोजु, बालकृष्ण खाइतुले पनि सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट चुनावी प्रचारमा लाग्नुभएको छ ।
क्षेत्र नं १ मा यसअघिको २०७९ को निर्वाचनमा नेमकिपा, एमाले र नेपाली कांग्रेस पछि राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले नौ हजार ३०३ मत, सत्ता गठबन्धनका साझा उम्मेदवार तत्कालीन नेकपा ९माओवादी केन्द्र०का सुनिल गोठे वासुले पाँच हजार २८३ मत ल्याउनु भएको थियो ।
भक्तपुर क्षेत्र नं २ मा पनि चुनावी सरगर्मी बढेको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु जनतामाझ पुगिरहनुभएको छ । विकासका एजेण्डा लिएर उम्मेदवारहरु घरघर पुग्न थालेका छन् ।
भक्तपुर क्षेत्र नं २ यसवर्षको नर्वाचनमा पनि निकै चासोको क्षेत्र बनेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको यस क्षेत्रमा एमालेबाट सचिव महेश बस्नेत उम्मेदवार रहनुभएको छ । त्यसैले राष्ट्रिय राजनीतिमा पनि यस निर्वाचन क्षेत्रको चासो बढेको पाइएको छ । यसै क्षेत्रबाट एमाले नेता बस्नेतले यसवर्ष चौथो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको हो ।
यसअघि २०७० सालको निर्वाचनमा रामेश्वर ढुङ्गेलसँग पराजित भएका बस्नेत २०७४ सालको निर्वाचनमा भने यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगाना हुनुहुन्थ्यो । यद्यपी २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापाले २४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा एमालेका बस्नेतले भने २३ हजार २७९ मत ल्याउनुभएको थियो । यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ पत्रकार कबिर राणा उम्मेदवार हुनुहुन्छ । उहाँ पहिलोपटक कांग्रेससको उम्मेदवार बन्नुभएको छ ।
यस क्षेत्रमा २०४८ सालमा नेपाली कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी बासुकला, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति, २०७० सालमा कांग्रेसका रामेश्वर ढुंगेल, २०७४ मा पहिलो पटक नेकपा एमालेका महेश बस्नेतले र २०७९ मा कांग्रेसकै दूर्लभ थापाले आलोपालो जस्तै गरी निर्वाचित हुदै आउनुभएको छ । यस वर्ष पनि क्षेत्र नं २ मा नेकपा एमालेका बस्नेत, कांग्रेसका राणा, रास्वपाका खत्री, नेमकिपाका रमेश बैध र नेकपाका दिपशिखाबीच नै कडा प्रतिस्पर्धा हुने बताइएको छ । धेरैले यस निर्वाचनमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने बताइरहेका छन् । तर रास्वपा भने यसलाई मान्न तयार छैन ।
नेकपा एमालेका उम्मेदवार महेश बस्नेत भक्तपुरलाई समृद्ध भक्तपुर र सुखी भक्तपुरवासी बनाउने अठोट लिएर जनतामाझ गएको बताउनुहुन्छ । उपत्यकाको जिल्ला र केन्द्रीय राजधानीसँग जोडिएको भएपनि विकासमा राकम कर्णालीको रुपमा चिनिएको भक्तपुरको विकासमा कायापट आएको दाबी गर्दै विकासका बाँकी अधुरा कामलाई पूरा गर्न यसपटक आफ्नो उम्मेदवारी रहेको उहाँ बताउनुहुन्छ ।
विगत १० वर्ष अगाडिका तुलनामा आफू सांसद भएपछि भक्तपुरको शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विकासको क्रान्ति ल्याएको बताउदै उहाँले विगत तीन वर्षदेखि रोकिएका भक्तपुरका विकासका कामलाई अबको कार्यकालमा पूरा गरी समृद्ध भक्तपुर बनाउन उम्मेदवारी दिएको उहाँको दाबी छ ।
घरघरमा खानेपानीको पहुँचदेखि कृषिमा आधुनिकिकरण, रासायनिक मल कारखानाको स्थापनादेखि रोकिएको स्मार्टसिटी पूरा गर्ने वा जग्गा फुकुवा गर्ने, अत्याधुनिक स्वास्थ्य सेवाको पहुँचमा बिस्तार एवं गुणस्तरीय शिक्षाको हव बनाउदै भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि ख्वप विश्व विद्यालयको स्वीकृतिसम्मको एजेण्डा पूरा गर्न आफ्नो उम्मेदवारी रहेको उहाँ बताउनुहुन्छ ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ पत्रकार कविर राणा भक्तपुरको सेरोफेरोको विकास गर्ने एजेण्डा बोकेर जनतामाझ गएको बताउनुहुन्छ । भक्तपुर क्षेत्र नं २ मा कांग्रेसको बलियो आधार रहेको, यसअघि पनि तीन पटक यसै क्षेत्रबाट कांग्रेस विजयी भएको, कांग्रेसको विशेष महाधिवेशनपछि पनि भक्तपुर कांग्रेस एक भएर चुनावमा होमिएको तथा विकास निर्माण र भ्रष्टाचार नियन्त्रणजस्ता एजेण्डा बोकेर मतदातामाझ गएकाले आफू यसपटकको निर्वाचनमा विजयी हुने दाबी उहाँको छ ।
रास्वपाका उम्मेदवार एवं पत्रकार राजीव खत्री मतदाताले यसपटक नयाँलाई हेर्ने दाबी गर्नुहुन्छ । भक्तपुरदेखि देशभरको समस्या संसद्मा उठाउने र भक्तपुरको विकासमा लाग्ने प्रतिबद्धता मतदातामाझ गर्दै उहाँले यसअघिका सांसदले भक्तपुरको कुनै आवाज नउठाएको आरोप लगाउनुहुन्छ ।
नेकपाका उम्मेदवार रामप्रसाद सापकोटा (दीपशिखा) ले पनि भक्तपुरको विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै विभिन्न दलसँगको एकता र मतदाताको विश्वासले यस पटक क्षेत्र नं २ मा पहिलोपटक आफू निर्वाचित हने दाबी गर्नुहुन्छ ।
नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्यालो नेपाल पार्टीका जितराम लामा, श्रम संकृति पार्टीका अर्जुन वासु, त्रिमूल नेपालका राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टीका जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीका पत्रकार जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पाटी संयुक्तका लोककृष्ण दाहाल, जनता समाजवादी पार्टीका नवीन श्रेष्ठ, नेकपा माओवादीका प्रकाशराज ढुङ्गेल, मङ्गोल नेशनल अर्गनाइजेसनका पेम्वा घले, नेपालका लागि नेपाली पार्टीका राजेश बाडेले पनि आ–आफ्ना एजेण्डा दिएर मतदाताको घरदैलोमामा पुग्नुभएको छ ।
त्यसैगरी स्वतन्त्र उम्मेदवारहरु सविन महत, प्रदिपकुमार रूपाखेती, आनन्द कार्की, मधु प्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मी बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराई पनि आफ्नो पक्षमा मत माग्ने प्रचारमा नै हुनुहुन्छ । रासस


