यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
काठमाडौँ/संयुक्त अरब इमिरेट्स (युएई) को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले भोग्नुपरेका शारीरिक तथा मानिसक समस्यामा केन्द्रित रहेर अन्तरक्रिया सम्पन्न गरेको छ । श्रमिकहरुले भोग्नुपरेका शारीरिक तथा मानसिक स्वास्थ्य समस्या र तिनीहरूको समाधान एवं रोकथामका लागि अपनाउनुपर्ने उपायहरुका बारेमा नेपाली चिकित्सकहरुसँग अन्तरक्रिया गरिएको दूतावासले जनाएको छ ।
कार्यक्रममा युएईमा कार्यरत २५ जना नेपाली चिकित्सक सहभागी हुनुहुन्थ्यो । चिकित्सकहरुले नेपाली श्रमिकमा शारीरिक तथा मानसिक दुवै किसिमका समस्या देखिने गरेको उल्लेख गर्दै मानसिक समस्या अझ बढी रहेको बताउनुभयो । उहाँहरुले त्यहाँ कार्यरत नेपाली श्रमिकमा विशेष गरी उच्च रक्तचाप, हृृदयघातको समस्या, मिर्गौलाको समस्या, मानसिक तनावका कारण महिलासँग सम्बन्धित विभिन्न समस्या रहेको बताउनुभयो । त्यस अवसरमा उहाँहरुले ती समस्यालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा परामर्श दिनुभएको थियो ।
चिकित्सकहरुले स्वास्थ्यसम्बन्धी चेतनाको कमी, स्वास्थ्यलाई हल्का रुपमा लिने र रोग लुकाउने प्रवृत्ति, खाडी राष्ट्रमा कार्यरत वातावरणीय असरबारे पर्याप्त जानकारी नहुनु, आफ्नो स्वास्थ्य बिमाका बारेमा अनभिज्ञता र भाषाको समस्याका कारण धेरैजसो नेपाली श्रमिकहरु स्वास्थ्य जाँच गराउन समयमै अस्पताल नजाने गरेको उल्लेख गर्नुभएको थियो ।
उहाँहरुले श्रमिकलाई नियमित रुपमा कम्तीमा छ महिनामा एकपटक स्वास्थ्य जाँच गराउन, पर्याप्त मात्रामा पानी पिउन, मदिरा सेवन त्याग्न, स्वास्थ्य बिमाबारेमा जानकारी लिन पनि सुझाव दिनुभयो ।
उहाँहरुले राजदूतावासले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई युएईमा तीव्रता दिन अति आवश्यक भएको बताउनुभयो । मानसिक रोगबाट पीडितको उपचारका लागि नेपाल सरकारसँग समन्वय गरी नेपालबाट टेलिमेडिसिन सेवा प्रदान गर्न पनिसुझाव दिनुभयो ।
युएईमा आउने श्रमिकलाई नेपालमा नै स्तरीय स्वास्थ्य जाँचको व्यवस्था स्तरीय अस्पतालमा हुनुपर्ने र यूएई आउनुअघि अभिमुखिकरण तालिममा स्वास्थ्य, बिमा र युएईको हावापानी, सडक सुरक्षा तथा दुर्घटनासम्बन्धी विस्तृत चेतनामूलक तालिम तथा प्रशिक्षण दिनुपर्ने कुरा बताउनुभयो ।
त्यस अवसरमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले युएईमा रहेका नेपाली चिकित्सकहरुले आफ्नो क्षेत्रबाट चिकित्सा क्षेत्रमा तथा युएईमा कार्यरत नेपाली समुदायलाई पु¥याएको योगदानको प्रशंसा गर्दै प्राप्त अमूल्य सुझावलाई कार्यान्वयन गर्न राजदूतावास तत्पर रहेको बताउनुभयो । साथै आगामी दिनमा राजदूतावाससँगको समन्वयमा विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने विषयमा सबै इमिरेट्सहरुमा रहनुभएका नेपाली चिकित्सकहरुको सक्रिय सहयोग र हातेमालोका लागि अनुरोध गर्नुभयो । रासस


