खाली सिलिन्डर बोकेर नेपाल ग्यासको कार्यालयमा पुगे उपभोक्ता
काठमाडौं/नेपाल ग्यासका उपभोक्ताले अभावको महसुस गरेका छन् । बजारमा ग्यास नपाएको उनीहरूको गुनासो छ ।नेपाल ग्यासका बिक्री केन्द्रहरूमा ग्यास नपाएको भन्दै खाली सिलिन्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक क्षेत्रस्थित कार्यालयमै पुग्न थालेका छन् । कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको नयाँ बसपार्कबाट खाली सिलिन्डर बोकेर गएका नमराज घिमिरेले गुनासो गरे ।
“घरमा ग्यास खाँचै भइसक्यो, डिपोले ग्यासै दिँदैन । डिपोले कम्पनीमै जानू, त्यहाँ ग्यास बाँडेको छ भन्यो,” उनले भने, “डिपोमा १०–१५ दिनदेखि पालोमा राखेँ, तर पालो नै आएन । पालोमा राख्दा ढिला हुन्छ भनेपछि बालाजु औद्योगिकमा रहेको कम्पनीको कार्यालयमै आएको हो ।”
उनले अगाडि भने, “हिजोअस्ति कम्पनीले ग्यास बाँडेको छ भनेर आएको आज बाँडेको रहेनछ, बिचल्ली हुने भयो ।”
कम्पनीको कार्यालयमा पुगेका रौतहट घर भई हाल चाबहिलमा बस्दै आएका प्रेम साहले पनि डेरामा ग्यास सकिएको र समयमै नपाएको बताए । “ग्यास सकिएको छ । दाउरामा पकाएर खानुपरेको छ । एक घण्टादेखि ग्यास लिन नेपाल ग्यासको कम्पनीकै कार्यालयमा आएको अहिलेसम्म पाएको छैन,” उनले भने ।
अर्का उपभोक्ता धार्दिङ घर भई हाल काठमाडौंमा बस्दै आएका अर्जुन सिम्खडाले पनि आफ्नो वरिपरि कतै नेपाल ग्यास नपाएको बताए । उनले भने, “म नेपालटारमा बस्छु । त्यहाँ ग्यास पाइएको छैन । डिपोले बालाजु औद्योगिक क्षेत्रमा पठायो । कम्पनीकै कार्यालयमा आएर पनि ग्यासै पाउन सकिएको छैन ।”
नेपाल ग्यास कम्पनीले भने ढुवानीमा समस्या रहेको जनाएको छ । नेपाल ग्यासका कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका गोकुल भण्डारीले यसको माग दैनिक ८–१० बुलेट रहने गरेको बताए । हाल समस्या हल भए पनि बजारको चक्र केही गडबड भएकाले पुरानै अवस्थामा आउन केही दिन लाग्ने उनले उल्लेख गरे ।
“हाम्रो दायित्व भनेको सम्पूर्ण उपभोक्तालाई समयमै ग्यास उपलब्ध गराउनु हो । यो राज्यबाट नियन्त्रित व्यवसाय भएकाले राज्यले पनि भूमिका खेल्नुपर्छ,” उनले भने, “लोडिङ गर्ने कुरामा हाम्रा आफ्ना बुलेट नभएका कारणले समस्या आएको हो । उद्योगको कारणले मात्रै ग्यास अभाव भएको होइन । पाइपलाइनको कुरा छिटो गर्ने हो भने यस्ता समस्या बारम्बार आउने थिएनन् ।”
उनले अगाडि भने, “बजारमा जुन अभाव देखिएको छ, यो कभर हुँदै छ । अहिले आत्तिनुपर्ने स्थिति छैन । ग्यास रेगुलर आउन थालिसकेको छ । अहिले आवश्यकताभन्दा बढी ग्यास भरेर राखिएका कारणले पनि अभाव देखिएको हो ।”
नेपाल आयाल निगमले बजारमा ग्यास अभावका विषयमा जानकार रहेको जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले अभाव छिटो हटाउन उद्योगीलाई कडा निर्देशन दिइएको बताए ।
“नेपाल ग्याससहितमा केही समस्या देखापरेको छ । उनीहरूले भारतबाट समयमै ढुवानी गर्न नसकेको पाइयो,” उनले भने, “ग्यास ढुवानी गर्ने एउटा पनि ढुवानीकर्ता छैनन् । जति पनि छन्, भारतीयहरू छन् । तिनैमाथि हामी निर्भर भएका छौँ ।”
उनले अगाडि भने, “समयमै ढुवानीकर्ता भएनन् भने पनि हामीलाई समस्या हुने गरेको छ । अहिले त्यस्तै समस्या आएको हो । अहिले उद्योगीहरूलाई बोलाएर अभाव हटाउन र इन्डियन आयल कर्पोरेससँग पनि निगमले कुराकानी गरिरहेको छ ।”
उनले निर्वाचन पनि नजिकिएकाले अभाव हटाउन निगमले चासो देखाइरहेको बताए । निगमले कालोबजारी कसैले गरे कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ । न्युज एजेन्सी नेपाल


