चितवन-३मा रोचक प्रतिस्पर्धा
चितवन/अघिल्लो पटक २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबदबा रह्यो। यहाँका तीन निर्वाचन क्षेत्रमध्ये दुई वटामा भारी मतका साथ रास्वपाका उम्मेदवार विजयी बने।
रास्वपाबाट क्षेत्र नम्बर १ मा हरि ढकाल र २ मा रवि लामिछानेले विजय प्राप्त गर्दा ३ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ं का उपाध्यक्ष विक्रम पाण्डे भारी मतका साथ विजयी बने। यसपटक चुनावी मैदानबाट राप्रपाका पाण्डे बाहिरिएका छन्। चितवन–३ को अवस्था हेर्दा यस पटकको चुनाव रोचक र घोचक बन्ने देखिएको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी .(नेकपा) र राप्रपाले पालैपालो जित्दै आएको यस क्षेत्रमा अहिले पनि उनीहरू उम्मेदवार खडा गरेर चुनावी मैदानमा होमिएका छन्। यहाँबाट २३ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्यतः पाँच दलबिच प्रतिस्पर्धा हुने देखिएको छ।
कांग्रेसले पुराना तथा अनुभवी नेता टेकप्रसाद गुरुङ, एमालेले भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलिया, नेकपाले भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख रेनु दाहाल, रास्वपाले विघटित प्रतिनिधिसभा सदस्य सोविता गौतम र राप्रपाले युवा नेता दीपक मगरलाई चुनावी मैदानमा उतारेको छ। यसअघि काठमाडौं–२ बाट निर्वाचित रास्वपा नेत्री सोविता अहिले चितवन आएपछि यहाँको चुनावी रौनक चुलिएको हो।
अघिल्लो निर्वाचनमा विक्रम पाण्डे तत्कालीन माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीलाई नौ हजार दुई सय ३६ मतान्तरले पछि पार्दै विजयी भएका थिए। समानुपातिकतर्फ भने रास्वपा नै अगाडि थियो। रास्वपाले समानुपातिकमा २८ हजार चार सय एक मत प्राप्त गरेको थियो।
प्रत्यक्षतर्फ भने रास्वपाकी जिता बरालको १४ हजार आठ सय ४३ मत मात्र आएको थियो। उनी तेस्री भएकी थिइन्। पाण्डेले ३५ हजार ६०, अधिकारीले २५ हजार आठ सय २४, स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार दुई सय ७५ मत ल्याएका थिए। त्यतिखेर अधिकारीलाई तत्कालीन नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलले सहयोग गरेका थिए भने कोइरालालाई एमालेको साथ थियो।
समानुपातिकतर्फ राप्रपाको मत भने निकै कम अर्थात् १६ हजार ६ सय ५५ प्राप्त भएको थियो जबकि राप्रपाकै प्रत्यक्षतर्फका उम्मेदवार पाण्डेले ३५ हजारभन्दा बढी मत प्राप्त गरेका थिए। यस्तै समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रले १६ हजार ९०, एमालेले १४ हजार पाँच सय २२, कांग्रेसले १० हजार पाँच सय २४, नेकपा एकीकृत समाजवादीले एक हजार ८५ मत प्राप्त गरेका थिए। चितवन–३ बाट ४७ दलले समानुपातिकतर्फ भोट प्राप्त गरेका थिए। अधिकांशले सयभन्दा कम मत ल्याए।
चितवन–३ बाट अहिले कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य तथा पूर्वजिल्ला सभापति टेकप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ। १० वर्षयता रूखमा भोट हाल्न नपाएका यहाँका कांग्रेसजनले आफ्नै उम्मेदवार पाउँदा खुसी व्यक्त गरेका छन्।
अहिले रूपान्तरणसहित कांग्रेस चुनावी मैदानमा होमिएकाले टोलटोलमा उत्साह छाएको कांग्रेसका जिल्ला नेता बताउँछन्। सामाजिक सञ्जालमा बढी हल्लाखल्ला नगरी चुनावी मैदानमा होमिएको कांग्रेसले यसपटक यो क्षेत्र आफ्ना लागि अनुकूल भएको ठानेको छ।
‘तीन नम्बरका जनताले १० वर्ष भयो रुखमा भोट हाल्न नपाएको। रूखमा भोट हाल्न नपाउँदा मतदाता रिसाएका थिए,’ कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले भने, ‘यहाँका जनता कांग्रेसभन्दा टाढा बस्नुपरेको थियो। अहिले भोट हाल्ने वातावरण बनेको हुँदा उत्साह छाएको छ।’
कांग्रेसले २०७४ सालमा राप्रपा र २०७९ सालमा तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो। त्यतिखेर यस क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेदवार उठाउनै पाएको थिएन। दुई पटक भएको स्थानीय तहको निर्वाचनमा पनि यहाँका मतदाताले मेयर पदमा रूखमा भोट हाल्न पाएका थिएनन्।
नेपाली कांग्रेसमा नयाँ नेतृत्व आएकाले पनि मतदातामा उत्साह जागेको पोखरेल बताउँछन्। ‘पार्टी सभापतिमा गगन थापा आएपछि तल्लो तहका मतदातामा पनि उत्साह जागेको छ। जेनजी उमेर समूहका युवाको पनि हामीलाई साथ छ,’ उनले भने, ‘यहाँ विगतमा पनि हाम्रो राम्रो ठाउँ हो। छरिएर रहेका युवा पनि एकत्रित भएका छन्। हामी यसपटक जित निकाल्ने अवस्थामा पुगेका छौं।’
गुरुङ चितवनमा स्वच्छ छविका नेतामा मानिन्छन्। तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत भइसकेका गुरुङले पुराना तथा जनजातिको भोट तान्ने सम्भावनासमेत देखिन्छ। अहिले मतदातामाझ पुगेर उनीहरूका गुनासा र अपेक्षा सुनेर घोषणापत्र बनाउने चरणमा रहेको पोखरेलले जानकारी दिए।
यस क्षेत्रमा एमालेको संगठन पनि राम्रो मानिन्छ। अहिले एमालेले यहाँ युवा नेता शंकर थपलियालाई चुनावी मैदानमा उतारेको छ। चितवन–३ संसदीय निर्वाचन क्षेत्रमा माडी नगरपालिका र भरतपुर महानगरपालिकाको ६, ८–९ र १३–२८ वटा वडा पर्छन्। त्यसमध्ये माडी नगरपालिकाको प्रमुख पद एमालेले जितेको थियो।
एमाले चितवनका सचिव प्रकाश ढुंगाना विगतको भोट जोगाउन सके निर्वाचन जित्ने बताउँछन्। ‘प्रदेशमा पाएको भोट जोगाउन सके हामी जित्छौं,’ उनले भने, ‘हाम्रा मतदाता विचलित हुनु हुँदैन।’
एमालेले निर्वाचन कमिटी गठन गरेर माघ १२ गतेदेखि चुनावी प्रचारप्रसार सुरु गर्ने बताएको छ। उसले माडीको हनुमान झुलाबाट चुनावी प्रचारप्रसार सुरु गर्ने बताएको छ।
अहिले देशभर यस क्षेत्रको चर्चा व्यापक छ। भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएकी रेनु दाहाल यही क्षेत्रबाट उठेकी छन्। स्थानीय तहमा बसेर काम गरेकी दाहालले पनि चुनावी प्रचारप्रसारलाई आक्रामक बनाउँदै लगेको देखिन्छ। नेकपा चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले दाहालको जित हुने दाबी गरेका छन्।
भरतपुर महानगरपालिका प्रमुख भएर भरतपुरको विकासका लागि दाहालले पु¥याएको योगदानका आधारमा पनि जित सुनिश्चित भएको उनको जिकिर छ। ‘संविधान लेखेर स्थानीय तहमा सिंहदरबार ल्याउने काममा उहाँको ठुलो योगदान छ। भरतपुर मोडेलको विकास देशभर ल्याउनुपर्छ, जित्ने आधारसहित उनले भने, ‘विकास, समृद्धि, सुशासन र सामाजिक न्याय नै रेनु दाहालको जित्ने आधार हो।’ सामाजिक सञ्चालमा आएजस्तो अवस्था नभएको उनले बताए।
चितवनलाई रास्वपाको उर्वर भूमिसमेत भन्ने गरिन्छ। विगतको समानुपातिक मत पनि सबैभन्दा बढी छ। अहिले रास्वपाकी केन्द्रीय नेत्री नै चितवनमा आएर उठेपछि यहाँको माहोल नै फेरिएको छ। रास्वपा चितवनका सभापति कृष्ण भुसाल चितवन–३ बाट गौतमले सहजै जित निकाल्ने दाबी गर्छन्। ‘विगतमा हामीले गरेको सर्वेक्षणले सहजै जित निस्कने देखाएको थियो,’ उनले भने, ‘हामी माडी दिनभर डुल्यौं। त्यहाँ एकदमै सकारात्मक छ। भरतपुरको पश्चिम क्षेत्र पनि हाम्रो राम्रो छ। अहिलेको उभार देख्दा हामीले सहजै जित निकाल्छौं।’
यस क्षेत्रमा राप्रपाका उम्मेदवार दीपक मगरलाई पनि कमजोर ठान्नु हुँदैन। राप्रपाले पनि माडी क्षेत्रमा चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ। नेता पाण्डेले पनि मतदाताको घरघरमा पुगेर पार्टीका उम्मेदवार मगरलाई मत मागिरहेका छन्। एक सय ७४ मतदान केन्द्र रहेको यस क्षेत्रमा एक लाख ५५ हजार तीन सय नौ मतदाता छन्।


