सुनको भाउले रच्यो इतिहासः प्रतिऔंस ५ हजार डलर कट्यो
काठमाडौँ/अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ इतिहास रचेको छ । प्रतिऔंस सुनको मूल्य पहिलो पटक ५ हजार डलर (३,६५९ पाउन्ड) नाघेको छ । सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढेको सुनको मूल्यले यो वर्ष पनि आफ्नो ऐतिहासिक यात्रालाई निरन्तरता दिएको हो ।
ग्रीनल्याण्डको विषयलाई लिएर अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) बिच बढेको तनावले विश्वमा वित्तीय र भू–राजनीतिक अनिश्चय थपेको छ । यही अनिश्चयका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिले पनि बजारलाई थप सशङ्कित बनाएको छ । शनिबार मात्रै राष्ट्रपति ट्रम्पले यदि क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडामाथि १०० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएका थिए ।
वित्तीय तथा राजनीतिक अस्थिरताको समयमा सुन तथा अन्य बहुमूल्य धातुलाई ‘सुरक्षित लगानी’ का रूपमा लिने गरिन्छ । सोही कारण लगानीकर्ताहरू डलर वा सेयर बजारभन्दा सुनमा लगानी सुरक्षित ठानिरहेका छन् । सुनको माग बढ्नुमा अन्य कारणहरू पनि जिम्मेवार छन् ।
अस्वाभाविक रूपमा बढेको मुद्रास्फीति, कमजोर बन्दै गएको अमेरिकी डलर र विश्वभरका केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाउनुले मूल्य अकासिएको हो । साथै, अमेरिकी फेडरल रिजर्भले यो वर्ष फेरि ब्याजदर घटाउने अपेक्षाले पनि सुनको बजारलाई उकासेको छ ।
यसका अलावा युक्रेन र गाजामा जारी युद्ध तथा वासिङ्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको घटनाले सिर्जना गरेको तनावले पनि सुनको मूल्य बढाउन मद्दत गरेको छ ।
सुनसँगै चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार चाँदीको मूल्य पहिलो पटक प्रतिऔंस १०० डलर नाघेको छ । गत वर्ष चाँदीको मूल्यमा करिब १५० प्रतिशतको भारी वृद्धि देखिएको थियो ।


