ओझेलमा परेको ऐतिहासिक रिसेडीकोट
कञ्चनपुर/तत्कालीन कार्तिकेयपुर (कत्युर) राजवंशको शासनकालमा राजनीतिक, प्रशासनिक, सैनिक तथा धार्मिक गतिविधिको केन्द्रका रूपमा स्थापित रिसेडीकोट आज संरक्षणको अभाव, मानव लापरबाही, द्वन्द्वकालीन क्षति र प्राकृतिक क्षयका कारण गम्भीर सङ्कटमा परेको छ । डोटी जिल्लाको बडीकेदार गाउँपालिका–१ अन्तर्गत पर्ने रिसेडी गाउँमा रहेको रिसेडीकोट नेपालको मध्यकालीन इतिहाससँग प्रत्यक्ष रूपमा जोडिएको एक प्रमुख ऐतिहासिक केन्द्र हो ।
डोटी क्षेत्रको इतिहास, धर्म, संस्कृति र रिसेडीकोटसम्बन्धी लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका स्थानीय लालबहादुर बम रजवारका अनुसार रिसेडीकोट चौधौँ शताब्दीको सुरुआतमा कार्तिकेयपुर राजवंशका शक्तिशाली राजा त्रिलोक्य पाल, निरयपालको शासनकालमा विकसित भएको हो । डोटी रैका राज्यकालमा रिसेडी बोगटान राज्यको राजधानीका रूपमा स्थापित थियो ।
त्यस समयमा यहाँबाट शासन सञ्चालन, कर सङ्कलन, न्याय सम्पादन, सैन्य रणनीति निर्माण तथा धार्मिक अनुष्ठान सम्पन्न हुने गर्थे । पछि गोर्खा राज्यको एकीकरणपछि पनि रिसेडीकोटको प्रशासनिक महत्व कायमै रहेको प्रमाण ऐतिहासिक दस्तावेज, ताम्रपत्र, हलबन्दी मानाचामल, ठेक–कचहरीका कागजात तथा मौखिक इतिहासमा पाइने गरेको बम रजवार बताउनु हुन्छ । “विसं २०४१ सम्म पनि रिसेडीकोटमा रहेको कोटघर अर्थात् दरबारका पर्खालहरू पाँचदेखि छ फिटसम्म उचाइमा सुरक्षित थिए”, स्थानीय ५२ वर्षीय प्रेमबहादुर बोहराले भन्नुभयो, “कोट क्षेत्रभित्र र वरपर सैनिक निगरानीका लागि बनाइएका पर्खाल, प्रवेशद्वार, सुरक्षात्मक टावर, राजाको घोडा बाँध्ने ढुङ्गे किल्ला (खम्मा), तथा भण्डारण कक्षका अवशेषहरू देखिन्थे, कोट नजिकै रहेको धर्म घरमा वाचा–कबोल गराउने, शरण लिन आउने यात्रु तथा स्थानीय बासिन्दा आश्रय लिने गर्दथे ।”
“रानीले स्नान गर्ने मङ्ग्रौ (ढुङ्गेधारा), ऐतिहासिक आधादर्जन नौला, देवल, राजसभास्थल, प्रशासनिक कोठा, सैनिक अभ्यासस्थल तथा धार्मिक पूजास्थलका संरचना स्पष्ट रूपमा चिन्न सकिन्थ्यो, तर समयमै संरक्षण नहुँदा र सरकारी निकायको उदासीनताका कारण ती संरचना क्रमशः क्षय हुँदै गएका छन्”, ७८ वर्षका स्थानीय हर्कबहादुर देउवाले भन्नुभयो ।
“विसं २०४१ मा त्यस नजिक स्थापना गरिएको लक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माणका क्रममा कोट क्षेत्रका पुरातात्विक संरचना योजनाविहीन रूपमा भत्काइए”, स्थानीय मुखिया प्रेमबहादुर बोहराले भन्नुभयो, “काटिएका ढुङ्गा भएकाले भवनमा लगाउन सजिलो हुने भन्दै त्यसबेलाको विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले ढुङ्गा बोकाएर लगेका हुन् ।”
पुरातात्विक महत्व नबुझ्दा कोट, धर्मघर र नौलाबाट निकालिएका ढुङ्गा विद्यालय भवन निर्माणमा प्रयोग गरिएको उहाँको भनाइ छ । “यसले रिसेडीकोटका अमूल्य संरचना सधैँका लागि नष्ट भयो, जुन आजको दृष्टिले हेर्दा गम्भीर ऐतिहासिक भूलका रूपमा लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ । तत्कालीन सशस्त्र द्वन्द्वका बेला रिसेडीकोटको अवस्थालाई झनै कमजोर बनायो । “सामन्ती र राजतन्त्रको इतिहास मेटाउनुपर्छ भन्ने नाराको आडमा यहाँका बाँकी संरचना तोडफोड गरिएपछि यस क्षेत्रले अपूर्णीय क्षति व्यहोर्नु परेको उहाँको भनाइ छ ।
विसं २०६२ सम्म देख्न सकिने र फोटो दस्तावेजका रुपमा रहेका ऐतिहासिक नौलाहरू पनि आज लोप हुने क्रममा छन् । “राज्यको बेवास्ता र द्वन्द्वकालीन परिवेशले रिसेडीकोटको ऐतिहासिक स्वरूपलाई गहिरो चोट पु¥याएको छ”, स्थानीय धनबहादुर बम रजवारले भन्नुभयो । रिसेडीकोट कार्तिकेयपुर राजवंशको केबल प्रशासनिक केन्द्र मात्र नभई रणनीतिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण किल्ला रहेको पूर्वशिक्षकसमेत रहनुभएका स्थानीय ७२ वर्षीय नरबहादुर बोहराले बताउनुभयो ।
इतिहास अध्ययनकर्ता लालबहादुर बम रजवारका अनुसार दार्चुलाको उकु कोट, डडेल्धुराको अजयमेरु कोट, निरोली कोट र रिसेडीकोट एकापसमा सम्बन्धित राजमुकाम तथा सुरक्षा किल्ला थिए, उकु कोट ग्रीष्मकालीन राजधानी, अजयमेरुकोट शीतकालीन राजधानी र रिसेडीकोट दुवै मौसममा प्रयोग हुने मुख्य प्रशासनिक केन्द्र थियो ।
तत्कालीन डोटी राज्यका राजा जगतीपाल, राजा त्रिलोक्य पाल र राजा निरयपालको शासनकालमा रिसेडीकोटबाट विभिन्न स्थानमा ताम्रपत्र जारी गरिएको प्रमाण रहेको सोधकर्ता बम बताउनु हुन्छ । “शाके १२३५ को जग्गादान ताम्रपत्र डडेल्धुरा थपलाका कश्यप गोत्रीय पाण्डेय ब्राह्मणसँग रहेको छ”, उहाँले भन्नुभयो, “शाके १२७४ (विसं १४०९) मा राजा निरयपालले रिसेडी कोटबाट नजिकैको चुडी खतेनाको जग्गा चैत भाट (वर्तमान भट्ट) लाई दान गरेको ताम्रपत्रीय प्रमाण पनि उपलब्ध रहेको छ ।”
“जोरायल क्षेत्रमा कौडिन्य गोत्रीय जोशी ब्राह्मणलाई १० वटा गाउँको जग्गा दान गरिएको अभिलेखले रिसेडीकोटको राजनीतिक शक्ति र धार्मिक सहिष्णुतालाई पुष्टि गर्छ”, उहाँले भन्नुभयो, “त्यसबेला रिसेडीकोट क्षेत्र धार्मिक दृष्टिले अत्यन्त समृद्ध मानिन्थ्यो, यहाँ आज पनि कार्तिकेयपुर वंशज राजाहरूका कुलदेवता मोहन्याल (कार्तिकेय) लाई प्रमुख देवताका रूपमा पूजा गरिन्छ ।”
उहाँका अनुसार मोहन्यालसँगै नवदुर्गा (नन्दादेवी), केदार (शिव), कोटभैरव, अलडो, बेताल, कालभैरव, सिद्धभैरव, सिगारी बेताल, सानकोटे मसानी, मच्चवाल, लाटो, कैलपाललगायत दुई दर्जनभन्दा बढी देवीदेवताका थानहरू रिसेडी र वरपरका क्षेत्रमा अवस्थित छन् । “कात्तिक शुक्ल दशमीमा जात्रा र एकादशीमा मोहन्याल देवताको विशेष पूजा हुने गर्छ”, उहाँले भन्नुभयो, “दसैँको समयमा रिसेडीकोट क्षेत्रमा जमरा र टीका चढाउने परम्परा रहेको छ, नवदुर्गा भगवती मन्दिरमा बडादसैँको नवमीमा भव्य मेला लाग्ने गर्छ, जहाँ परम्परागत रूपमा राँगाको बलि, कवाजी खेल, ढोल–दमाहा र सांस्कृतिक नृत्य प्रस्तुत गरिन्छ ।”
रिसेडी गाउँमा सतिप्रथासँग सम्बन्धित अवशेषहरू पनि पाइन्छन् । पारि रिसेडी गाउँ नजिकै सानकोट क्षेत्रतर्फ रहेका चाक्ला ढुङ्गाका तीन गादीहरू सति जाने रानीका लागि बनाइएको जनविश्वास रहेको बम रजवार बताउनुहुन्छ । किंवदन्तीअनुसार ती गादीमा बसेर अन्तिम बिदाइपछि रानी शवयात्रासँगै शमशानतर्फ जाने गर्थिन् । यी अवशेषले तत्कालीन सामाजिक संरचना, नारी अवस्थिति र सांस्कृतिक अभ्यासबारे महत्वपूर्ण सङ्केत दिन्छन् ।
डोटी रैका राज्यकालमा रिसेडीकोट बोगटान राज्यको राजधानी थियो । यहाँबाट प्रशासन सञ्चालन, कर सङ्कलन र न्यायसम्पादन हुने गथ्र्यो । गोर्खा राज्यकालमा पनि रिसेडीमा ठेक–कचहरीमार्फत न्याय–निशाफ हुने गरेको ऐतिहासिक कागजातहरूले पुष्टि गर्ने उहाँ दाबी गर्नुहुन्छ । शोधकर्ता बमका अनुसार रिसेडीकोटका शौनक गोत्रीय, रघुवंशी राजा मथुरा बोगटी रजवारको नाममा रहेको शाके १५९८ समय जेष्ठ सुदि ११ को ताम्रपत्रमा बाबुको गडो, जियाको गडो जेठोले रिसेडी पाउनु उल्लेख छ । रिसेडीकोटकै वंशज नागी बोगटी रजवारले शाके १७१७ मासे ५ नक्षेत्रे १ बारे मया चिताई मौभेरको खरक, देउथला पनढलाका बलतिर खोलडो गडो, रोस्या खान, किरमिल्या खान किष्णा भण्डारी९ब्राह्मण०लाई माया चिताइ दत्तगरी दियो र कृष्ण भण्डारीले पायो भनिएको छ ।
संवत् १९५७ मार्गवदी ५ रोज २ मा डोटी अछाम सर्पट महाजाँच गोश्वरा अड्डाबाट यस डोटी अदालतमा पूर्जी भई आउँदा छानबिन गरेर १२ काटेकटाना चन्द्रकान्तलाई जितापत्रको गरिदिने सनदमा नागी बोगटी रजवारले पाटोपत्र गरेर जग्गा जङ्गल सङ्कल्प गरी दिँदा डोटी राजाबाट पनि थामिएको कुरा उल्लेख छ ।
रामसिंह बोगटी रजवारले ‘साके १७४९ मासे ५ तीथौँ ४ बारे १ मा देउथलाको खरक उदैनीको खरक भैसा चराउन कृष्ण भण्डारीलाई दियो । यो अरुले नपाउनु’ भन्ने उल्लेख छ ।
यस्तै, रिसेडी लालबहादुर बम रजवार९ठकुरी०सँग रहेको उहाँका पूर्वज भुपाल बोगटी रजवारको १८९४ सालका आधारमा १९०० सालको तल्लो बोगटान गर्खाको हलबन्दी, जिम्मेवाली पत्र, त्यस क्षेत्रका ३५ मुखियाबाट कर असुली गरेका हिसाबका वहिखाताहरु, रजवारको बैठक, रजवारको विवाह, टीकोसहितको रकम असुली र त्यसपछिका विसं १९४२ र १९४८ का कानुनी जवान बन्दी मुद्दाहरू रिसेडीमै ठेक कचहरीबाट समाधान गरिएको प्रमाणका रुपमा रहेका छन् । यही कारण रिसेडीलाई ‘कान्छी नेपाल’ भनेर चिनिने गरिएको थियो ।
त्यस क्षेत्रको धेरै कुराहरु लालबहादुर बम रजवारबाट लेखिएको कार्तिकेयपुर प्रमुख राजवंशअन्तर्गत डोटी बोगटानका बम राजन्यको वंशावली र इतिहास पुस्तकमा तथ्य प्रमाणका साथ वर्णन भेटिन्छ । त्यहाँका देवीदेवता, मान्यता, कुलदेवता र वंशावली र हस्तलिखत पाडुलिपिहरुबाट रिसेडी तल्लो गाउँ, बिठोडा र निगाली गाउँमा बसोबास गर्ने ठकुरी बम, रजवारहरू कार्तिकेयपुर वंशज राजा निरयपालका सन्तति रहेको मान्यता छ । कुलदेवता, सम्बन्धित जातिहरु, ताम्रपत्र, हस्तलिखित पाण्डुलिपि, वंशावली र मौखिक इतिहासले यहाँको विभिन्न तथ्यहरुलाई पुष्टि गर्छ ।
रिसेडी क्षेत्र वैदिक आर्य, खस आर्य र मङ्गोल समुदायको ऐतिहासिक सहअस्तित्वको उदाहरण हो । ब्राह्मण, ठकुरी, क्षेत्री, दलित र मगर समुदाय यस वरपर परम्परागत रूपमा बसोबास गर्दै आएका छन् । धार्मिक आस्थामा केही भिन्नता भए पनि सामाजिक सम्बन्ध आपसी सहयोग र सहअस्तित्वमा आधारित छ । डोटेली भाषा यहाँको प्रमुख बोली हो । पछिल्ला वर्षमा बसाइँसराइका कारण धेरै स्थानीयवासी तराईका जिल्लामा बसोबास गरे पनि सांस्कृतिक सम्बन्ध गाउँसँग अझै मजबुत छ ।
इतिहास, संस्कृति र धार्मिक आस्थाले भरिएको रिसेडीकोट क्षेत्र आज उपेक्षित अवस्थामा छ । बाँकी रहेका पुरातात्विक संरचनाको तत्काल उत्खनन्, संरक्षण र अभिलेखीकरण नगरिएमा यो ऐतिहासिक धरोहर पूर्ण रूपमा लोप हुने खतरा रहेको स्थानीय ७९ वर्षका नरबहादुर बोहरा (दुगड) बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्थानीयवासी, इतिहासविद् र सरोकारवाला निकायका अनुसार यदि रिसेडीकोटलाई योजनाबद्ध रूपमा संरक्षण र प्रवद्र्धन गर्न सकियो भने यो सुदूरपश्चिम प्रदेशको एक महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक पर्यटन केन्द्र बन्न सक्छ ।”
बडीकेदार गाउँपालिका क्षेत्रमा अहिले प्रशासनिक कार्यालय, इलाका प्रहरी कार्यालय, क्याम्पस, बैंक, विद्यालय, स्वास्थ्य संस्था र यातायात सुविधा उपलब्ध छन् । डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार र मोहन्यालको प्रमुख स्थान अलाडी पनि यही क्षेत्रमा पर्दछ । यी सबै सम्भावनाका बाबजुद रिसेडीकोटको ऐतिहासिक महत्वअनुसारको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन । रिसेडीकोट केबल ढुङ्गा र माटोको संरचना होइन, यो सुदूरपश्चिम नेपालको राजनीतिक, धार्मिक, सांस्कृतिक र सामाजिक इतिहासको जीवन्त साक्षी हो ।
राज्यको बेवास्ता, द्वन्द्वकालीन क्षति र संरक्षण अभावका कारण यो धरोहर आज सङ्कटमा परेको छ । अब पनि समयमै स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारको पुरातत्व विभागले संयुक्त पहल नगरे रिसेडीकोट इतिहासका पानामा मात्र सीमित हुनेछ । इतिहास जोगाउनु भनेको पहिचान जोगाउनु हो । रिसेडी कोटको संरक्षण आजको आवश्यकता मात्र होइन, भावी पुस्ताप्रतिको दायित्व पनि हो । रासस


