डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक
काठमाडौँ/डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक सार्वजनिक गरिएको छ ।
सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीले शुक्रबार आयोजना गरेको कार्यक्रममा डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचका साथै डिजिटल परिदृश्य पुस्तक विमोचन गरिएको हो ।
डिजिटल युगमा पत्रकारिता पुस्तक जर्मनीका पत्रकारहरू स्टेफान मोल र तन्जिभ शुल्जले लेख्नुभएको हो । जर्मन भाषामा लेखिएको सो पुस्तकलाई लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्यले नेपाली भाषामा अनुवाद एवं सम्पादन गर्नुभएको हो ।
पुस्तकमा डिजिटलाइजेसनको युगमा मिडिया र पत्रकारिता, पत्रकारिताका शैली, सम्पादकीय व्यवस्थापन, सम्पादकीय जिम्मेवारी, पत्रकारिताको गुणस्तरलगायतका पक्षमा बहुआयामिक ढङ्गले चर्चा गरिएको छ । उज्ज्वल आचार्य र उमेश श्रेष्ठले लेख्नुभएको मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी पुस्तकमा मिथ्या सूचना, मिथ्या सूचनाको प्रतिकार, तथ्यजाँच प्रक्रिया, मिडिया साक्षरतालगायत विषय समावेश गरिएको छ ।
डिजिटल परिदृश्य पुस्तक पत्रकार तथा त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक ऋषिकेश दाहालले लेखेका हुन् । यो पुस्तकमा प्रतिमान परिवर्तनमा पत्रकारिता, अनलाइन समाचारको मूल्य, डिजिटल मिडिया र पत्रकारिता, युट्युबमा सम्पादकहरूको यात्रा, समाचारमा प्रतिलिपि अधिकारसहितका विषयलाई केलाइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सोसल मिडियामा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै निर्वाचनमा हुनसक्ने मिथ्या सूचनाप्रति सजग हुन जरुरी रहेको बताउनुभयो ।
वरिष्ठ पत्रकार प्रतीक प्रधानले प्रविधि, सोसल मिडिया र नागरिक पत्रकारिताका कारण पत्रकारितामा चुनौती थपिएको र पत्रकारिताले विश्वास जगाउन सक्ने पर्ने धारणा व्यक्त गर्नुभयो ।
डिजिटल युगमा पत्रकारिताका लेखक स्टेफान मोलले विज्ञापन इन्टरनेटमा आधारित मिडियामा केन्द्रित हुँदै गइरहेको र पत्रकारहरू मिथ्या सूचनाविरुद्ध लड्नुपर्ने भएकाले पत्रकारितामा चुनौती थपिएको बताउनुभयो ।
सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष नवीन खतिवडाले नेपालमा निर्वाचनका बेला मिथ्या सूचनालाई न्यूनीकरण गरी सत्यलाई स्थापित गर्न आवश्यक रहेको बताउनुभएको थियो । रासस


