गुलशनलाई एस जिको एकवर्षे प्रायोजन
कीर्तिपुर,(काठमाडौँ)/क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।
राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो । विल्लोले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
कार्यक्रममा हिमालयन विल्लोका प्रमुख कार्यकारी अधिकृत प्रदीप यादवले क्रिकेटर झाका लागि एक वर्ष भर आवश्यक हुने छ वटा क्रिकेट ब्याट, १० वटा पन्जासहित सम्पूर्ण सामग्रीहरू निःशुल्क उपलब्ध गराउने जानकारी दिनुभयो । विश्वभर चिनिएको उत्पादक संस्थाले नेपाली क्रिकेटलाई प्रायोजन गरेको यो पहिलो पटक हो ।
कार्यक्रममा क्रिकेटर झाले एसजिका सामग्री लिएर क्रिकेट खेल्नु आफ्नो बाल्यकालदेखिकै सपना भएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत यादवले छिट्टै एक जना महिला क्रिकेटरलाई पनि यसै प्रकारको प्रायोजनका लागि संस्थाले पहल गरिरहेको जानकारी दिनुभयो । रासस


