ट्रम्पले इरानलाई चेतावनी दिँदै उसका परमाणु केन्द्रबारे के भने ?

अमेरिका/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै उनीहरूले ‘ठीक तरिकाले व्यवहार गर्नुपर्छ’ भनेका छन्।मंगलबार एक पत्रकारले ट्रम्पसँग प्रश्न गरेका थिए, ‘इरानले भनेको छ, यदि अमेरिकाले आक्रमण गर्‍यो भने उसले त्यसको जवाफ दिनेछ ?’

यसमा ट्रम्पले भने, ‘हो, इरानले अघिल्लो पटक पनि यही भनेको थियो। त्यतिबेला मैले उनीहरूको परमाणु केन्द्रहरू ध्वस्त पारेको थिएँ, जुन अहिले उनीहरूसँग छैन। त्यसैले उनीहरूले ठीक तरिकाले व्यवहार गर्नुपर्छ।’

अमेरिकी राष्ट्रपतिले इरानमा जारी विरोध प्रदर्शन र त्यहाँका जनताबारे पनि प्रतिक्रिया दिएका छन्। उनले इरानमा लोकतन्त्र देख्न चाहेको पनि बताएका छन्।

ट्रम्पले भने, ‘हामी मानिसहरूको हत्या भएको हेर्न चाहँदैनौँ। हामी उनीहरूका लागि स्वतन्त्रता चाहन्छौँ। उनीहरू लामो समयदेखि नर्कजस्तो जीवन बिताइरहेका छन्।’

उनले थप भने, ‘मेरो केही साथीहरूले पहिले त्यहाँ लगानी गरेका थिए र उनीहरूले राम्रो नाफा पनि कमाएका थिए। त्यो एक उत्कृष्ट ठाउँ थियो। त्यहाँका मानिसहरू राम्रो थिए। यहाँसम्म कि नेतृत्व पनि राम्रो थियो। तर अहिले त्यहाँ नर्कमा बस्नुपरेजस्तै भएको छ।’

इरानमा गत डिसेम्बर २८ देखि लगातार विरोध प्रदर्शन भइरहेका छन्। यी प्रदर्शनहरू देशमा बढ्दो महँगी र बिग्रँदो अर्थतन्त्रको मुद्दाबाट सुरु भएका थिए, जुन अहिले हिंसात्मक बनेका छन्।

मानवअधिकार संगठनहरूले दाबी गरेका छन् कि यी प्रदर्शनहरूमा अहिलेसम्म हजारौँ मानिसहरूको मृत्यु भइसकेको छ।एजेन्सी