त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि
चितवन/त्रिशुली नदीमा भेटिएको बस डेढ वर्ष अघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको छ ।
आइतबार बिहान केही भाग मात्र देखिएपछि बस उत्खनन् सुरु गरिएको थियो । उत्खनन्को तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन् गर्दा आज शसस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको पुष्टि गरेको हो । खोजी कार्यमा खटिएका शसस्त्र प्रहरी हवल्दार ललित बहादुर काम्चाले उत्खनन् गर्दा गणपति डिलक्स लेखिएको भाग फेला परेको कान्तिपुरलाई जानकारी दिए । उनले अझै उत्खनन् कार्य भइरहेको बताए ।
२०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए ।
दुर्घटनामा परेका मध्ये केहीको मात्रै शव फेला परेको थियो । बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका थिए । सरकारले थप खोजीका लागि भारतबाट उच्च प्रविधिसहितको गोताखोर समेत ल्याएको थियो । तर बस फेला पर्न सकेको थिएन ।


