चितवनबाट १२४ केजि गाँजा सहित दुई जना पक्राउ

चितवन/चितवनमा लागुऔषध (गाँजा) सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विशेष सूचनाका आधारमा उनीहरुलाई गएराती पक्राउ गरेको हो । उनीहरुको साथबाट १२४ केजि गाँजा समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका ११ डुम्रेखाडी बस्ने ३३ वर्षिय वीरबहादुर तामाङ, ३१ वर्षिय हिरालाल तामाङ रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा राप्ती नगरपालिका ११ डुम्रेखाडी स्थित भित्रि सडकमा इलाका प्रहरी कार्यालय भण्डाराबाट गएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । उनीहरुले मोटरसाईकलमा गाँजा बोकेर भण्डारा तर्फ ल्याउँदै थिए । प्रहरीले तीन वटा मोटरसाइकल समेत बरामद गरेको छ । बाटोमा रेकी गर्ने व्यक्ति सहित केही मान्छे फरार भएको रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले लागू औषध नियन्त्रण गर्न मंसिर महिना देखि अपरेसन डेल्टा अभियान सञ्चालन गरेको छ । यो अवधिमा लागूऔषधका ५२ वटा मुद्दा दर्ता भएका छन् भने तीन महिला सहित ८१ जना पक्राउ परेका छन् । यो सहित चितवन प्रहरीले १५५ किलोगाँजा, ९ ग्राम चरेस, २०२ ग्राम खैरो हिरोईन, ट्रामाडोल ५१२८ एम्पुल, १३१ एम्पुल फेनरागन र १३१ एम्पुल नुर्फिन बरामद गरेको छ ।