मेयर रेनु दाहालद्धारा नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण
नारायणगढ,(चितवन)/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
जनताको जीउधनको सुरक्षासँग जोडिएको नारायणी नदीअन्तर्गत भरतपुर महानगर क्षेत्रका करिब ३५ किलोमिटर तटीय क्षेत्रमा आवश्यकताअनुसार विभिन्न चरणमा तटबन्ध निर्माणको काम भइरहेको नगरप्रमुख दाहालले बताउनुभयो । उहाँका अनुसार अत्यन्त जोखिमयुक्त २५ किलोमिटर क्षेत्रमा ठेक्का प्रक्रियामार्फत तटबन्ध निर्माणको काम सम्पन्न हुने चरणमा छ भने बाँकी १० किलोमिटर क्षेत्रमा जोखिमका आधारमा निर्माण प्रक्रिया अघि बढाइएको छ ।
“पच्चिस किलोमिटर क्षेत्रलाई पाँच–पाँच किलोमिटर खण्डमा विभाजन गरी काम भइरहेको छ । बाँकी १० किलोमिटर प्रक्रियामै छ । एकैपटक गर्न पाए अझ राम्रो हुन्थ्यो । तर उपलब्ध स्रोत र जोखिमका आधारमा प्राथमिकता दिँदै काम गर्दै आएका छौँ”, नगरप्रमुख दाहालले भन्नुभयो ।
यस योजनाका लागि अर्बौँ रुपैयाँ बजेट आवश्यक पर्ने उल्लेख गर्दै उहाँले बाँकी क्षेत्रमा छिट्टै प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । “अब ढिलाइ हुँदैन, यहाँका जनतालाई सुरक्षित बनाइन्छ”, नगरप्रमुख दाहालले भन्नुभयो । नारायणी नदी व्यवस्थापन आयोजनासँग समन्वय गरी काम भइरहेको र यसलाई पूर्णता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरप्रमुख दाहालले आफू निर्वाचित भए लगत्तै यो काम सुरु गरिएको उल्लेख गर्दै भरतपुरमा धेरै विकास भइसकेको र बाँकी रहेका केही स्थानको विकास प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । पहिलो चरणमा मानव बस्ती जोखिममा रहेका क्षेत्रमा तटबन्ध निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा अन्य क्षेत्रमा योजना ल्याइने उहाँको भनाइ छ ।
अनुगमनका क्रममा नगरप्रमुख दाहालले नारायणी किनारका स्थानीयवासीसँग छलफल गर्नुभयो । सो अवसरमा भरतपुर–१६ का डिल्लीराम दवाडीले बाँकी तटबन्ध निर्माण कार्य शीघ्र पूरा गर्न अनुरोध गर्नुभयो । सोही वडाका अब्दुल कलामले तटबन्ध पूरा गरी बस्ती जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्थानीय नन्दप्रसाद भट्टले बस्ती सुरक्षित भएकामा खुसी व्यक्त गर्दै बाँकी तटबन्ध छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा सँगै रहनुभएका नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख नारायण सुवेदीले सीमित स्रोतसाधनका बाबजुद पनि बढी जोखिमयुक्त स्थानमा प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो । अन्य नदीको तुलनामा नारायणीमा उल्लेखनीय काम भएको उल्लेख गर्दै उहाँले महानगरपालिकासँगको समन्वयमा काम छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख दाहालले भरतपुर–१६ गणेशमन्दिर, २६ भगौडी लगायतका क्षेत्रको तटबन्धको कामको निरीक्षण तथा अनुगमन गर्नुभएको थियो । रासस


