नेपाली राष्ट्रिय टोपी दिवस : इतिहास, महत्त्व र सम्मान।
सूर्य बराल/चितवन/भोलिदेखि जनवरी १ अर्थात् अङ्ग्रेजी नयाँ वर्ष सुरु हुँदैछ। पछिल्ला वर्षहरूमा यो दिन नेपाली समाजमा विशेष दिनका रूपमा स्थापित हुँदै आएको छ। यही दिनसँग जोडेर नेपाली राष्ट्रिय टोपी दिवस पनि मनाइँदै आएको छ।
नेपाली राष्ट्रिय टोपी दिवसको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई नेपाली टोपी लगाएर यो दिवसलाई भव्य रूपमा मनाउन सामाजिक अभियन्ता तथा वे ग्रुप नेपालका अध्यक्ष दिपक गौतमले अपिल गर्नुभएको छ।
हामीसँगको कुराकानीमा गौतमले नेपाली राष्ट्रिय टोपी दिवस पहिलोपटक सन् २०११ मा जापानबाट सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आफू र टंकनाथ गैरेसँग मिलेर जापानको ओसाकामा पहिलोपटक नेपाली टोपी लगाई सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोपी दिवसको अवधारणा अघि सारिएको थियो। त्यस अभियानले टोकियो लगायत जापानभर रहेका नेपाली समुदायलाई टोपी लगाउन प्रेरित गरेको थियो।
नेपाली राष्ट्रिय टोपी दिवसको सुरुवात गर्ने अभियन्ता दिपक गौतम र टंकनाथ गैरेप्रति यस अभियानले नेपाली मौलिकता, संस्कृति र पहिचान जोगाउन पुर्याएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गरिन्छ। उनीहरूको पहल आज विश्वभर फैलिएको राष्ट्रिय अभियानका रूपमा स्थापित हुनु गौरवको विषय बनेको छ।
गौतमका अनुसार नेपाली टोपी भन्नाले केवल ढाका टोपी मात्र होइन, भादगाउँले टोपी, राई–लिम्बु समुदायले लगाउने टोपी, गुरुङ, मगरलगायत सम्पूर्ण नेपाली जाति, जनजाति र आदिवासी समुदायले सदियौँदेखि शिरमा लगाउँदै आएका सबै प्रकारका टोपीहरूलाई बुझ्नुपर्छ।
विदेशमा रहँदा अङ्ग्रेजी नयाँ वर्षको सार्वजनिक बिदाको सदुपयोग गर्दै नेपाली संस्कृति र पहिचानलाई विश्व समुदायबीच चिनाउने उद्देश्यले राष्ट्रिय टोपी दिवसले महत्वपूर्ण भूमिका खेलेको उहाँको दाबी छ।
पछिल्ला वर्षहरूमा युवा पुस्ता, विशेषगरी नवयुवाहरूको सक्रिय सहभागिताले टोपी दिवसको रौनक अझै बढाएको छ। सामाजिक सञ्जालमार्फत टोपीसहितका तस्बिर, सन्देश र अभियानहरूले यस दिवसलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सहयोग पुर्याइरहेका छन्।
आफ्नो संस्कृति संरक्षण र राष्ट्रिय पहिचानलाई मजबुत बनाउने लक्ष्यसहित मनाइँदै आएको नेपाली राष्ट्रिय टोपी दिवस सफल रहोस् भन्ने कामनासहित, राष्ट्रिय टोपी दिवसको पूर्वसन्ध्यामा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।


