सुशीला सरकार भंग गर्न विप्लवको १० दिने अल्टिमेटम
काठमाडौं/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्कीको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने ‘अल्टिमेटम’ दिएको छ ।
बुधबार शीतल निवास पुगेर महासचिव विप्लवले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सुधारका विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापनपत्रमा जेन-जी आन्दोलनपछि राजनीतिक अन्योलता बढेको भन्दै विप्लवको पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ ।
‘ज्ञापनपत्रमा भनिएको छ , ‘यदि जनताका भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेनजीका आवाजहरूलाई समयमै सुनिएन भने परिस्थिति फेरी पनि विस्फोटक बन्दैन भनेर भन्न सकिँदैन । तसर्थ परिस्थितिको यो गम्भीरतालाई मध्यनजर गर्दै हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट तत्काल निम्न मागहरू पूरा गरेर मात्र देशलाई सापेक्षिक शान्ति, स्थिरता र निर्वाचनतिर लैजान सकिन्छ भन्ने मान्यताकासाथ महामहिम राष्ट्रपति ज्यू सामु यो ज्ञापन पत्र पेस गरेका छौँ’।१० दिनभित्र माग सम्बोधन नगरिए सडक सङ्घर्षमा अगाडि बढ्ने समेत चेतावनी दिइएको छ ।

