Breaking News

उम्मेदवारका फरक फरक नाम सिफारिस भएपछि राप्रपामा किचलो

काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पार्टीबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि फरक फरक नाम सिफारिस हुन थालेपछि किचलो सुरु भएको छ ।
विशेषगरी काठमाडौंका विभिन्न क्षेत्रहरूमा संस्थापन र इतर पक्षले फरक फरक नाम सिफारिस गर्न थालेका हुन् । काठमाडौं–४ मा दुई पक्षले फरक फरक नामहरू सिफारिस गरेको छ ।

संस्थापन पक्षले सोमबार बिहान आठ जनाको नाम सिफारिस भएको जानकारी गराएको थियो । काठमाडौं– ४ को क्षेत्रीय समितिले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ आठ जनाको नाम सिफारिस गरेको जानकारी गराएको थियो ।

संस्थापन पक्षबाट सार्वजनिक गरिएका नामहरूमा काठमाडौं–४ मा भुवन पाठक, डा ठाकुरमोहन श्रेष्ठ, अनिता विमली, भीमसेन मैनाली, चम्पा अधिकारी, पुन्यप्रसाद श्रेष्ठ, विशाल गुरुङ र दीपकप्रसाद चौलागाईं थिए । सोमबार दिउँसो संस्थापन इतरले सिफारिस भएका अन्य नामहरू बाहिर ल्याएको छ । रिद्दिप्रताप राणालाई पहिलो नम्बरमा राखेर प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरिएको छ । संस्थापनइतरले सिफारिस भएका भनि बाहिर ल्याएका नामहरूमा रिद्दीप्रताप राणा, हरिकृष्ण मगर, रोमन तन्दुकार र सुनिता पाण्डे छन् ।

काठमाडौं–२ बाट केन्द्रीय सदस्य कुन्ती पोखरेलसहित ८ जनालाई प्रत्यक्षतर्फ सिफारिस गरिएको संस्थापन पक्षले जनाएको छ । पोखरेल गत निर्वाचनमा यस क्षेत्रको प्रतिस्पर्धी उम्मेदवार हुन् । अर्कोतर्फ, संस्थापनइतरले काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडालाई पहिलो नम्बरमा राखेर पाँच जनाको नाम सिफारिस गरेको छ । संस्थापनइतरले प्रत्यक्षतर्फ नवराज सिम्खडा, शशी सिलवाल, सुजित के।सी, कुन्ती पोखरेल, दिपक के।सी र मणि सिम्खडाको नाम सिफारिस गरिएको छ । काठमाडौं–२ को क्षेत्रीय अध्यक्ष विन्दु विष्टले सोमबार क्षेत्रीय समितिले गरेको निर्णयमा पहिलो नम्बरमा नवराज सिम्खडाको नाम उल्लेख गरिएको छ ।

यसअघि काठमाडौं–१ बाट क्षेत्रीय समितिले नाम सिफारिस गर्दा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नामबिना पठाइएको थियो । क्षेत्रीय सभापति रामेश्वर श्रेष्ठले पूर्वअध्यक्ष पशुपति शम्शेर राणापशुपति समशेर राणाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेका थिए । प्रत्यक्षतर्फ राणासहित शोभित उप्रेति, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम सिफारिस गरिएको थियो । संस्थापन पक्षका क्षेत्रीय अध्यक्षले वरिष्ठ उपाध्यक्ष मिश्रको नाम समावेश नगरी जिल्लामा पठाएपछि विवाद भएको थियो । गत दुई निर्वाचनमा यसै क्षेत्रमा संघीय संसदमा प्रतिस्पर्धा गरेका वरिष्ठ उपाध्यक्ष मिश्रको नाम समावेश नै नगरी सिफारिस गरिएपछि उनी क्रुद्ध भएका थिए ।