Breaking News

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन/भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो ।

महानगडरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गर्नुभयो । महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरु गरिएको छ । नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा क्यामेरा जडानको काम सुरु गरिएको छ ।

महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार २९ वटै वडाका २०० भन्दा बढी स्थानमा ४१८ क्यामेरा जडान गर्न लागिएको छ । चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित ४१८ उच्च क्षमताका भिएमएससहितका क्यामेरा जडान गर्न लागिएको छ । सिनजी आइटी सोलुसन प्रालिले रु पाँच करोड ५८ लाख २० हजार ६४९ को लागतमा क्यामेरा जडानको काम गर्दैछ ।

उद्घाटन गर्दै महानगर प्रमुख दाहालले आधुनिक सहर बनाउने अभियानअन्तर्गत सिसी क्यामेरा जडानको काम सुरु गरिएको बताउनुभयो । सुरक्षित र भयरहित तवरले जनता बाँच्न पाउनुपर्ने भन्दै यो योजना अघि बढाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सिसी क्यामेरा जडानसँगै सुरक्षित सहरको सपना सहाकार भएको छ ।”

महानगरपालिकाले २०६ किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडानको काम गरिएको उहाँले बताउनुभयो । एकानब्बे वटा चोकमा हाइमास्ट लाइट जडान गरिएको छ । यस्तै महानगरका छवटा चोकमा ट्राफिक लाइट जडान गर्ने योजना पनि कार्यान्वयनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ ।

सो अवसरमा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा हुने हरेक घटनालाई निगरानी गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन महानगरपालिकाले क्यामेरा जडान गरेको बताउनुभयो । यो योजनाले जनता सुरक्षित भएको महसुस गर्ने उहाँको भनाइ छ । सो अवसरम महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले जडान गरिएका क्यामेराको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल टेलिकमको फाइबरमार्फत सिसी क्यामेरा सञ्चालन गरिने छ । महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो । नेपाल टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सार्वजनिक बिदाको दिनसमेत मर्मतको काम नरोकेर कामलाई अघि बढाइएको बताउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले क्यामेराको प्रभावकारी कार्यान्वयनको पक्षमा आफूहरू लाग्ने बताउनुभयो । रासस