पत्रकार गोर्खालीको रहस्यमय निधनबारे अध्ययन गर्न समिति गठन
भरतपुर/
नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार अजय गोर्खालीको रहस्यमय निधनबारे अध्ययन गर्न समिति गठन गरेको छ । पत्रकार महासंघ चितवन शाखाका सदस्य गोर्खालीको गत मंसिर २० गते रहस्यमय निधन भएको थियो ।
महासंघको शुक्रबार आकस्मिक बसेको कार्यसमितिको बैठकले पत्रकार गोर्खालीको निधनको विषमा विभिन्न आशंकाहरु उब्जिएको भन्दै महासंघले स्वतन्त्र रुपमा अध्ययन गर्ने निर्णय गरेको हो ।
निधनअघि गोर्खालीलाई नारायणगढमा केहि व्यक्तिहरुले निर्वस्त्र बनाई लखेटेको भिडियो सार्वजनिक भएका छन् । निज गोर्खालीलाई उद्धार गरी भरतपुर अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
पत्रकार गोर्खालीलाई लखेट्ने मध्येका एक जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । पत्रकार महासंघले घटनाको सत्य, तथ्य छानविन गरि सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई दबाब दिइरहेको छ ।
घटनाको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको अध्ययन गर्न उपाध्यक्ष शान्ता अधिकारीको संयोजकतवमा अध्ययन समिति गठन गरिएको महासंघले जनाएको छ । समितिको सदस्यमा पत्रकार सरोज उपरकोटी र सुदन पौडेल सदस्य रहेका छन् ।
‘महासंघ अजय गोर्खालीको रहस्यमय निधनको विषयमा यथाशक्य छिटो सत्य, तथ्य पत्ता लगाउन माग गर्दछ । घटनामा दोषी ठहरिएकालाई पक्राउ गरि कारवाही गर्न महासंघ जिल्ला प्रहरी कार्यालयसँग जोडदार माग गर्दछ’, महासंघका सचिव राजेश घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

