Breaking News

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

दमौली,(तनहुँ)/यहाँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्यालयले स्थलगत रुपमै उत्पादन र बजारीकरणसम्बन्धी विवरण सङ्कलन सुरु गरेको हो । तनहुँबाट वार्षिक करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले कार्यालयले सुन्तला बगैँचा अवलोकनका साथै देखिएका समस्या तथा सम्भावित समाधानका उपायबारे किसानलाई जानकारी गराइएको बताउनुभयो ।

अघिल्लो वर्षको सुन्तलामा यस वर्ष सुन्तला उत्पादन वृद्धि हुने अनुमान छ । बेनीकोटका किसान दलबहादुर थापाले केही वर्षयता सुन्तलाका बोटहरु सुक्दै जाने समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार बेनीकोटबाट यस वर्षमात्रै रु दुई करोड बढीको सुन्तला बिक्री भइसकेको छ । यहाँ १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् । कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाबाट रु ४२ करोड ५० लाखको सुन्तला बिक्री भएको थियो । त्यतिबेला एक हजार ६५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९६८ हेक्टर क्षेत्रफलमा पाँच हजार ८३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो । त्यतिबेला तीन हजार ७५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाका आठ हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तलाखेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । रासस