नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छः पृथ्वीसुब्बा गुरुङ
काठमाडौं/नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा पूर्वसञ्चारमन्त्री समेत रहेका गुरुङले नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताए । गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको थियो । तर जेनजी आन्दोलनका कारण फेरि ती सञ्जालहरू खुला भएका थिए ।
उपमहासचिव गुरुङले विशेष परिस्थितका कारण नियमनमा नरहेका समाजिक सञ्जालहरूलाई हाल खुला गरे पनि कुनै न कुनै दिन अवश्य बन्द हुने दाबी गरे । नेपालमा साना व्यवसाय गर्ने कम्पनी दर्ता गर्नुपर्ने तर अर्बौंको कारोबार गर्ने सामाजिक सञ्जाल दर्ता नहुने भन्ने नहुने उनको तर्क छ ।
आफूले पटकपटक प्रयास गर्दा पनि ती कम्पनीले नेपाल सानो देश भनेर हेपेको गुरुङको भनाइ छ । दर्ता गर्न १३ महिनाको समय दिए पनि उनीहरूले नटेरेपछि नियमन गर्न आफूले बन्द गरेको उनले बताए । सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी रहेको गुरुङको भनाइ छ । आगामी दिनमा नेपालमा दर्ता नभएका कम्पनीहरू बन्दा गर्दा विकल्प दिएर मात्रै बन्द गर्ने उनले बताए । हाल नेपालमा धमाधम वैकल्पिक एपहरू समेत खुल्दै गरेकाले विकल्प दिएर विदेशी कम्पनीहरू राज्यले नियमन गर्नैपर्ने उनको भनाइ छ ।
यस्तो छ गुरुङको भनाइ ?
राष्ट्रिय स्वाधिनतको हिसाबले नेपालमा व्यवसाय गर्न आउने सबैले नेपालमा दर्ता हुनुपर्छ कि पर्दैन ? नेपालको संविधान मान्न पर्छ कि पर्दैन ? नेपालको कानुन मान्न पर्छ कि पर्दैन ? उनीहरू नेपालको संविधान मान्दिनँ भन्छ, नेपालको कानुन मान्दिनँ भन्छ, बन्दै गरेको कानुनको पनि डिफेम गर्छ । तेरो देशको सरकार गरिब सरकार, सानो देश, भ्रष्टाचार हुने देश । हाम्रो आफ्नो स्वाधिनता छैन ? हाम्रो आफ्नो स्वाभिमान छैन ?
त्यसकारण यो आज परिस्थितिले गर्दा मैले खोल्नुपर्यो, कुनै न कुनै दिन फेरि यो बन्द गर्नुपर्छ । त्यो आएन भने फेरि रेगुलेसन गर्नुपर्छ । रेगुलेसन त अत्यन्त आवश्यक छ नि । नेपालीले नेपालमा व्यवसाय गर्दा चिया पसल खोल्दा त सीडीयो कार्यलयमा गएर दर्ता गर्नुपर्छ, उसको कम्पनी, व्यवसाय । त्यत्रो अर्बौं रुपैयाँ व्यवसाय गर्ने त्यो कम्पनी यहाँ दर्ता गर्न पर्दैन भनेर कुन नेपालीले भन्छ रु पर्दैन, पर्छ नि । न्युज एजेन्सी नेपाल


