अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

काठमाडौँ/अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गर्नुभएको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिनुहुने भएको छ ।

कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आउनुभएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाउनुभयो । उक्त चलचित्रमा हरिया पात्रले उहाँको लोकप्रियता आम दर्शकसम्म पु¥यायो । उही अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘अभिमन्यु स् च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

“मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु”, अभिनेता चौरासियाले भन्नुभयो ।

पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा अभिनेता चौरासियाले बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गर्नुभएको छ । तर, उहाँ कलाकारिताको यात्रा त्यति सहज भने थिएन ।

“अभिनय गर्ने लक्ष्य राखेपछि पढाइलाई मैले प्राथमिकतामा राखिन । काठमाडौँ आएपछि भोकमरी र बेरोजगारीको कठोर अनुभव सहेँ । अभिनयप्रतिको मोहका कारण विदेश जाने दबाबका बीच आफ्नो शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै बस्ने निर्णय गरे । त्यसपछि परिवारसँगको सम्बन्ध पनि टाढियो”, उहाँले भन्नुभयो ।

अभिनय सिक्ने जोशमा उहाँले भारतको दिल्लीसम्म पुगेर प्रयास गर्नुभयो, तर सफल हुन सक्नुभएन । फलतः नेपालमै ‘एक्टर्स स्टुडियो’ बाट अभिनय सिक्ने र रङ्गमञ्चमा प्रस्तुती दिँदै कलाकारिता यात्राको सुरुआत गर्नुभयो ।

‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत दर्शकको ध्यान तान्न सफल भएपछि निर्देशकले उहाँलाई खोज्न थाले । तर, उहाँको सपना झै मुख्य भूमिका नभई सहायक र ‘हरिया’ जस्ता भूमिका प्रस्ताव भए ।

“म मुख्य भूमिकामा केही फरक गर्न चाहन्थेँ । त्यसकारण मैले केही प्रस्ताव स्वीकार गरिन । जब मैले केही प्रस्ताव अस्वीकार गरेँ, त्यसको असर मेरो करियरमा प¥यो, मलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउनै छाड्यो”, अभिनेता चौरासियाले भन्नुभयो ।

आफूले सोचे जस्तो चलचित्रमा भूमिका नपाएपछि उहाँले केही समय अभिनयदेखि टाढा रहँदै माछा बेच्ने काम गर्नुभयो । तर, कोरोना महामारीका कारण त्यो सफल हुन सकेन । अभिनयबाहेकका काममा निरन्तर असफल भइरहँदा उहाँलाई चलचित्र ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्ने प्रस्ताव आयो । पाँच वर्षपछि आफ्नै कर्ममा फर्किनुभएका अभिनेता चौरासियालाई एकदिन निर्माता विनोद पौडेलले मुख्य अभिनेताको प्रस्ताव गर्नुभयो ।

“मैले जीवनभर जसका लागि सङ्घर्ष गरेँ, त्यो मौका अब पाएको छु । त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ”, उहाँले भन्नुभयो । चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उहाँले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक पात्रको भूमिका निर्वाह गर्नुभएको छ ।

मधेसको पृष्ठभूमिमा आधारित उक्त चलचित्रमा उहाँसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

उक्त चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गर्नुभएको छ । रासस