Breaking News

किसानको सपनामाथि प्राकृतिक विपत्तिको बज्रपात, मधेस प्रदेशमा ठुलो कृषि क्षतिको आकलन

जनकपुरधाम । नेपालको सातै प्रदेशमध्ये कृषि उत्पादनमा अग्रणी मधेस प्रदेश यो वर्ष लगातारको प्राकृतिक विपत्तिबाट प्रभावित बनेको छ । देशको अन्नभण्डारका रूपमा चिनिने यस प्रदेशका किसानले गत असारमा खडेरी, असोजमा डुबान र कात्तिकमा बेमौसमी वर्षाको मार झेल्नुपरेको छ ।

धान रोप्ने समयमा वर्षा नहुँदा समस्या झेलेका किसानले जसोतसो रोपेको धान भित्र्याउने समयमा झरी, बाढी र डुबान झेले । परिणामस्वरुप यो वर्ष मधेसको धान उत्पादन घट्ने मधेस प्रदेश सरकारको आकलन छ ।

कृषि विकास निर्देशनालयका अनुसार मधेसमा धान खेतीयोग्य ३ लाख ७० हजार हेक्टर क्षेत्रफलमध्ये यस वर्ष ३ लाख २९ हजार ७२५ हेक्टरमा मात्रै रोपाइँ भएको थियो । सिँचाइको अभावमा करिब ११ प्रतिशत खेत बाँझो रह्यो । जसोतसो मोटर चलाएर वा सिँचाइका अन्य उपाय अपनाएर रोपाइँ गरेका किसानका धान असोजमा आएको अविरल वर्षा र बाढीले नष्ट गर्‍यो ।

असोजको बाढीले मात्र २ अर्ब ६२ करोडभन्दा बढी मूल्य बराबरको धानमा क्षति पुर्‍याएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी प्रदीप यादवका अनुसार कुल २६ हजार ९६७ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ ।

महोत्तरी जिल्लामा मात्र ९६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ । यसै क्रममा मधेसको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले असोजकै वर्षाबाट विभिन्न बालीमा करिब ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । सोमध्ये १२ करोड ९४ लाख बराबरको माछा, एक अर्ब १७ करोड २८ लाख बराबरको उखु, दुई अर्ब १२ करोड ३७ लाख बराबरको तरकारी, ४२ करोड १९ लाख बराबरको फलफूल र १३ करोड ४८ लाख बराबरका अन्य बालीमा क्षति पुगेको छ ।

Nabil bank
असोजको विपत्तिले थलिएका किसान सामान्य अवस्थामा फर्किन नपाउँदै कात्तिक महिनामा मोन्था चक्रवातको प्रभावसहितको बेमौसमी वर्षाले थप पीडा थप्यो । धान भित्र्याउने बेला खेतमा पाकेका बाली भिजेर सड्न थालेका छन् । पिपरा गाउँपालिका–७ का किसान इन्दल मुखियाले बेमौसमी वर्षाले धानमात्र नभएर दलहन, तेलहन, आलु, तरकारी र माछापालनमा समेत ठुलो असर गरेको बताए ।

मुखियाले भने, ‘असारमा रोपाइँका बेला खडेरी, असोजमा डुबान र अहिले कात्तिकमा झरीले खेतमै बाली कुहिएको छ । अब त लगानी पनि नउठ्ने अवस्था छ ।’

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रवक्ता अविरल कुमार महतोका अनुसार मध्य कात्तिकमा परेको बेमौसमी वर्षाले यस वर्ष धान उत्पादनमा करिब २० देखि २५ प्रतिशतसम्म ह्रास ल्याउने अनुमान गरिएको छ । लगातारका विपत्तिका कारण किसानको लगानी बढ्दै गएको छ भने आम्दानी घट्दो क्रममा छ । मल, बिउ, मेशिनरी, डिजेल र मजदुरीको लागत बढेका बेला उत्पादन घट्दा कृषक घाटामा परेका छन् ।

प्रदेशमा आधुनिक सिँचाइ प्रणालीको अभाव, वर्षाको पानी सङ्कलन र निकासको अपर्याप्त व्यवस्था, जलवायु–अनुकूल बाली प्रणालीमा ध्यान नदिनुजस्ता कारणले प्राकृतिक विपत्तिहरूको प्रभाव अझ गहिरो भएको हो । राज्यले यसलाई आपत्कालीन समस्या होइन, नियमित चुनौतीका रूपमा स्वीकार गरी दीर्घकालीन समाधानका उपाय अघि बढाउनुपर्ने किसान बताउँछन् ।

मधेस प्रदेश सरकारका अनुसार कात्तिक महिनाको बेमौसमी वर्षाबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।