माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

जलेश्वर,(महोत्तरी)/तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ ।

झिलीमिली बत्ती, धातुका दियो, भाँडाकुडालगायत वस्तुहरुका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा परेको जलेश्वर नगरपालिका–५ का ध्रूव रायले बताउनुभयो ।

दिपावली र छठ पर्वको बेला वर्षेनी लाखौँका माटाका भाँडाकुडा र दियो बिक्री गर्ने कुमालहरु अहिले बजारमा आएका बत्ती, प्लास्टिक र धातुका भाँडाकुडाले गर्दा माटोको भाँडावर्तन र दियो ९पाला० लगायतका सामग्रीको बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–६ का कुमाल गणेश पण्डितले बताउनुभयो ।

पहिला माटोको भाँडा चोखो हुने भन्दै दियो, ढकनी, घैँटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीको माग हुने गरेको थियो । हाल आएर बनिबनाउ धातु र प्लास्टिकका भाँडाकुडाले माटोका भाँडा उपभोक्ताको रोजाइमा नपरेपछि पेसा चौपट भएको महोत्तरी गाउँपालिका–४ का कुमाल विजय पण्डितले बताउनुभयो ।

पहिले जिल्लाभरकै हाट बजारमा माटोको सामग्रीहरु बिक्री हुने गरेकामा अहिले नगन्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने जलेश्वर नगरपालिका–१ का कुमाल सुरेन्द्र पण्डितले बताउनुभयो । विगतमा महोत्तरीको विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुडाहरु तराई मधेसमा मात्रै नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुने गरेको थियो ।

माटोका सामग्रीहरु बिक्री नहुनु र बिक्री भए पनि लगानी नउठ्नुले यस पेसामा अब नयाँ पुस्ताहरु आउन नचाहने गौशाला नगरपालिका–६ का कुमाल वीरजु पण्डितले बताउनुभयो । सबैतिर आधुनिकता हावी हुँदै गए पनि बुढापाका र संस्कृति प्रेमीहरुले अझै माटोकै भाँडाकुडा प्रयोग गर्न रुचाउने भएकाले कुमाल जातिका बुढापाकाहरुले जसोजतो ती सामग्रीहरु बनाएर जिविका चलाइरहेको बलवा नगरपालिका–७ का पूर्वशिक्षक सुशील यादवले बताउनुभयो । रासस