हैजा महामारीविरुद्धको औषधि पर्सामा दिन थालियो

वीरगञ्ज,(पर्सा)/हैजा महामारीविरुद्ध प्रतिकार्य खोप अभियान आजदेखि पर्सामा सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले आज प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई औषधि खुवाएर सुरुआत गरिएको हो ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा अभियान गौतमले हैजा महामारीविरुद्धको औषधि पर्साका एक वर्ष उमेर माथिका सबैलाई खुवाउनका लागि अनुरोध गर्नुभयो । “पर्सामा हैजाको महामारी र वर्षापछिको डुबानको कारणले पनि हैजाको उच्च जोखिम रहेकाले पनि सबैले हैजाविरुद्धको प्रतिकार्य खोप अभियानमा सरिक जनाउनका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “मुखबाट खुवाइने भएकाले सुरक्षित र भरपर्दो भएकाले पनि ढुक्क भएर सेवन गर्नका लागि अनुरोध गर्दछौँ ।”

डा गौतमले हैजाको औषधि खाएर मात्रै पर्याप्त नहुने भएकाले आफ्नो घरवरपर सरसफाइ र सफा तथा स्वच्छ पानी पिउनका लागि पनि विशेष अनुरोध गर्नुभयो । नारायणी अस्पताल वीरगञ्जका डा मनोजकुमार गुप्ताले पनि हैजाविरुद्धको औषधिले गम्भीर प्रकृतिको कुनै पनि ‘साइड इफेक्ट’ नपार्ने भएकाले पनि सर्वसाधारण सबैले खाएर सहयोग गर्नका लागि आह्वान गर्नुभयो ।

“हैजाको खोप विश्वसनीय प्रकृतिको भएकाले पनि कुनै पनि आशङ्का गर्नुपर्दैन्, यसले स्वास्थ्यलाई फाइदा नै पु¥याउनेछ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी सुवेदीले यहाँ देखिएको हैजाको सङ्क्रमण न्यूनीकरण र यहाँका जनतालाई सुरक्षित गराउनको लागि पनि खोपको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

भदौको पहिलो साता पर्सामा हैजाको सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले पर्सामा करिब छ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप खुवाइने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले यो अभियान आजदेखि आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक औषधि दिइनेछ । यो मुखबाट खुवाइने खोपयुक्त औषधि हो । यो सुरक्षित रहेको महाशाखाले जनाएको छ । यो औषधि एक वर्षभन्दा माथिका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो औषधि दिन सकिने जनाइएको छ । रासस