जापानविरुद्ध नेपाल ५ विकेटले विजयी, २ अंकसहित सुपर सिक्समा

चितवन/ओमानमा जारी टी–२० विश्वकप छनोट अन्तरगत समूहको अन्तिम खेलमा जापानलाई नेपालले ५ विकेटले पराजित गरेको छ । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो ।

नेपालको जितमा आशिफ शेखले ३८, गुलशन झाले अविजित २८ र कुशल भुर्तेलले २१ रनको योगदान दिए । खेलको १८ औं ओभरको अन्तिम ३ बलमा गुलशनले छक्का, चौका र अन्तिममा एक रन निकाल्दै नेपाललाई जित दिलाए । दीपेन्द्र सिंह ऐरी १४ रनमा अविजित रहे । खेलमा गुलशन झा प्लेयर अफ दि म्याच घोषित भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापान निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । उसका लागि कप्तान फ्लेमिङले ६० रनको योगदान दिए । उनी गुलशनको बलमा क्याचआउट हुन पुगे ।

नेपालका लागि गुलशनले २, सन्दीप लामिछानेले २, सोमपाल कामीले एक विकेट लिए । जितसंगै नेपाल २ अंकका साथ सुपर सिक्समा प्रवेश गरेको छ । यसले गर्दा विश्वकपमा छनोट हुन नेपाललाई फाइदा पुग्ने छ । सुपर सिक्समा नेपालले जापान बाहेकका अन्य ४ देशसंग प्रतिस्पर्धा गर्नुपर्नेछ । जापान भने समूह उपविजेता बन्दै शुन्य अंकका साथ सुपर सिक्समा पुगेको छ ।