टी-२० विश्वकप छनोटः कुवेत जापानसँग पराजित, नेपाल र जापान सुपर ६ मा प्रवेश
काठमाडौं/्नेपाल र जापान ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा प्रवेश गरेका छन् । छनोटको समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापानले सुपर–६ मा स्थान पक्का गरेका हुन् ।
दुवै खेलमा पराजित भएको कुवेत छनोटबाट बाहिरिएको छ । यसअघि बुधबार भएको खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो । उक्त समूहको अन्तिम खेल शुक्रबार हुनेछ । उक्त खेलमा जित निकाल्ने टोलीले सुपर–२ मा २ अंक लगेर जानेछ ।
कुवेतले दिएको १७८ रनको लक्ष्य पछ्याएको जापानले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । जापानको जितमा इसम रहमानले ३९ बलमा ९ छक्का र २ चौकासहित ६४ रनको उत्कृष्ट ब्याटिङ गरे । त्यसअघि ओमनमा पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो । कुवेतका अली जहिरले सर्वाधिक ४१ रन बनाएका थिए ।