कर्णालीमा विपन्नलाई आवास
काँक्रेविहार,(सुर्खेत)/कर्णाली प्रदेश सरकारले गरिव तथा विपन्नका लागि हालसम्म चार हजार ८५६ घर निर्माण गरेको छ । जनता आवास ९प्रदेश०, जनता आवास (सङ्घ) र विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत कर्णालीका १० जिल्लाका विभिन्न पालिकामा घर निर्माण गरिएको हो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जनता आवास ९सङ्घ०तर्फ तीन हजार १५० घर निर्माण भएका थिए । त्यस्तै जनता आवास (प्रदेश)ले ५२२ वटा गरिव तथा बिपन्न स्थानीयबासीका लागि घर निर्माण गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा सङ्घले ३८० र प्रदेशले १८४ वटा घर निर्माण भएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । त्यस्तै बिपन्नको घरतर्फ आर्थिक वर्ष २०८०/८१ मा ३९७ वटा घर र आर्थिक वर्ष २०८१/८२ मा २२३ घर निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा जनता आवास सङ्घतर्फ सबैभन्दा बढी घर कालिकोटमा निर्माण भएका छन् । कालिकोटमा १८१ वटा घर निर्माण गरिएका छन् । त्यसपछि १४२ वटा सुर्खेतमा निर्माण गरिएका छन् । दैलेखमा ३८, जाजरकोटमा १९ वटा घर निर्माण भएका छन् । जनता आवास प्रदेशतर्फ सुर्खेतमा ३३ वटा घर, दैलेखमा १४, सल्यानमा १६, रुकुम पश्चिममा २३, जाजरकोटमा २७, डोल्पामा १४, जुम्लामा २१, मुगुमा ६, कालिकोटमा १०, हुम्लामा २० वटा घर निर्माण भएका छन् ।
बिपन्नको घर निर्माण कार्यक्रम शीर्षकमा सुर्खेतमा ३६ वटा घर, दैलेखमा ३९, सल्यानमा १३, रुकुम पश्चिममा २३, जाजरकोटमा २३, डोल्पामा ११, जुम्लामा २०, मुगुमा ८, कालिकोटमा ३०, हुम्लामा २० घर निर्माण भएको प्रवक्ता सुवेदीले जानकारी दिए । आर्थिक वर्ष २०८१÷८२ मा मात्र ७८७ वटा घर निर्माण भएका छन् । त्यस्तै मन्त्रालयले सार्वजानिक भवन निर्माणतर्फ दुई आर्थिक वर्षमा १९ वटा भवन निर्माण गरिएको जनाएको छ । स्थानीय तहको सिफारिसमा उक्त घर निर्माण गरिएका हुन । भूकम्पका कारण नयाँ निर्माण गरिएका जाजरकोटका केही घर भत्किएका छन् ।
स्थानीयस्तरमा पाइने स्रोत साधनबाट निर्माण गरिएका ती घर भूकम्पले सजिलै भत्किएका छन् । केही विपन्नका लागि घर निर्माण भएपनि अपायक ठाउँमा घर निर्माण हुँदा मानिस बस्न रुची मानिरहेको अवस्था छैन । माटो र ढुँगाको सहायताले निर्माण गरिएका घर कच्ची भएकाले पनि मानिस सजिलै बस्न सहजरूपमा लिएका छैनन् । जाजरकोटको बारेकोटमा निर्माण भएका घरको रकम नै नपाएको पीडितले बताएका छन् ।
चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले घर निर्माणका लागि बजेट बिनियोजन गरेको छ । एकीकृत बस्ती विकास कार्यक्रम अन्तरर्गत डाँगीबाँडा एकीकृत बस्ती विकास डोल्पा, ताजाकोट गाउँपालिका–२ मैलागाउँ दलिवाडा हुम्लामा दुई करोड ५० लाख रकम बिनियोजन गरिएको छ । त्यस्तै जनता आवास कार्यक्रमका लागि रु ५० लाख बिनियोजन गरिएको छ । त्यस्तै विपन्नको घर निर्माण कार्यक्रम अन्तरर्गत ५० लाख रकम प्रदेश सरकारले छुट्याएको प्रवक्ता सुवेदीको भनाइरहेको छ । अधुरा तथा नयाँ निर्माणका लागि यो बजेट बिनियोजन गरिएको छ ।
ठुलिभेरी नगरपालिकाको प्रशासकीय केन्द्र जुफाल नजिकै रहेको डाँगीबाँडा विगत लामो समयदेखि पहिरोको उच्च जोखिममा रहेकाले यहाँको एकीकृत बस्ती विकासको काम गर्नुपरेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए । प्रदेश सरकारले आगलागी पीडित, पहिरो पीडित तथा प्राकृतिक घटना र विपन्न स्थानीयवासीका लागि घर निर्माण गर्दै आएको छ । रासस