Breaking News

ओमानमाथि नेपाल ६ विकेटले विजयीः आसिफ शेखको अर्धशतक

काठमाडौं/ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको छ। आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले ओमानसँग वार्मअप म्याच खेलेको हो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालको जितमा ओपनर आसिफ शेखले ६१ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। कप्तान रोहित पौडेलले २५ रन बनाए। कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्लले १० रन थपे। सुरुमा ब्याटिङ गरेको ओमानले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो।

ओमानलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई दुई विकेट हात पारे। विश्वकपको छनोट खेल्न नेपाली टिम ओमान पुगेपछि आर्मअप म्याचमा व्यस्त भएको हो। विश्वकप छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ। समूह चरणको शीर्ष स्थानको टिम सुपर सिक्समा छनोट हुनेछ। सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन्।