फेरिने भयो निर्वाचन तालिका, संघको भएपछि स्थानीय तह र प्रदेश चुनाव हुने

काठमाडौं/आगामी फागुनमा प्रतिनिधि सभाको चुनाव भएसँगै निर्वाचन तालिको फेरिने भएको छ । २०७४ साल र २०७९ सालमा प्रतिनिधि सभा र प्रदेशको चुनाव एकसाथ भएको थियो ।

पाँच वर्षे कार्यकार पूरा नभइ प्रतिनिधि सभा विघटन भएर आगामी फागुनमा चुनाव हुने भएपछि एकसाथ चुनाव हुने अवस्थाको अन्त्य हुन लागेको हो ।

प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ म भएपनि प्रदेश सभाको चुनाव २०८४ सालमा हुनेछ । सोही वर्ष स्थानीय तहको समेत निर्वाचन हुनेछ । प्रदेश सभाको भन्दा पहिले स्थानीय तहको निर्वाचन हुनेछ ।

प्रदेश सभाको पछिल्लो चुनाव ४ मंसिर २०७९ मा भएको थियो । पाँच वर्षे कार्यकाल पूरा गर्न दिने गरी चुनाव हुँदा २०८४ को मंसिर वरिपरी नै चुनाव हुनेछ ।

तर, स्थानीय तहको पछिल्लो चुनाव ३० वैशाख २०७९ मा भएको थियो । पाँच वर्षे कार्यकाल पूरा गर्न दिँदा स्थानीय तहको चुनाव २०८४ को वैशाख अन्तिम साता वरिपरी नै हुनेछ ।

आगामी फागुनमा हुने चुनावबाट आउने प्रतिनिधि सभाको कार्यकाल २०८७ सालसम्म रहनेछ । नयाँ आउने प्रतिनिधि सभाबाट बन्ने सरकारले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ ।

विगतमा तीन वटै तहको चुनाव गर्दा संघीय सरकार पनि विदा भएर नयाँ आउने चरणमा हुन्थ्यो । किनभने प्रतिनधि सभाको कार्यकाल समेत सकिने अवस्थामा रहन्थ्यो । अब भने त्यस्तो नहुने भएको वातावरण बनेको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तय भएको हो ।

जेनजीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । प्रतिनिधि सभाबाटै नयाँ सरकार बन्ने अवस्था नरहेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेका हुन् ।

तोकिएको समयमा निर्वाचन भएको अवस्थामा तीन तहको निर्वाचन तीन वटै चरणमा हुने वातावरण बन्ने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

उनीहरू एकै पटक तीन तहको निर्वाचन गराउनेबारे छलफलमा थिए । तर, प्रतिनिधि सभा विघटन भएर निर्वाचनको मिति तय भएपछि तीन तहको चुनाव तीन चरणमा नै हुने वातावरण सिर्जना भएको हो ।