यस्तो छ देवी विसर्जन तथा टीकाको विधि र मन्त्र

नवरात्र समाप्त भएपछि दशमीमा देवीको विसर्जन गर्नुपर्दछ । दुर्गाभक्तितरङ्गिणीमा उद्धृत देवीपुराणमो वचनमा भनिएको छ – नवरात्रपछि दशमी तिथिमा प्रातः विधिपूर्वक पूजा गरी गीत र बाजागाजाका साथ देवीलाई विसर्जन गर्नुपर्दछ ।

विसर्जन गर्ने क्रममा प्रार्थना गर्दै भन्नु पर्दछ– हे भगवती ! मलाई रूप दिनुहोस्,यस दिनुहोस्, मेरा शत्रुलाई सखाप पारिदिनुहोस् ।

मलाई ऐश्वर्य, सन्तान र धन दिनुहोस् र मेरा सबै कामना पूर्ण तुल्याउनुहोस् ।

हे महिषासरमर्दिनी महामाया ! हे चण्डिका ! हे मुण्डमालिनी ! मलाई आयु, आरोग्य र ऐश्वर्य दिनुहोस् । म हजुरलाई नमस्कार गर्दछु ।

देवीलाई उठाउने मन्त्र:
इति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध ।

उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।।

कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह ।

गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।।

यी माथिका मन्त्र अनुसार बुद्धिमान नरनारीले देवीको मूर्ति उठाएर प्रार्थना गर्दै भन्नुपर्दछ – हे चण्डेशी देवी ! हजुर मैले अर्पण गरेको पूजा लिएर उठ्नुहोस् । हजुरले आफ्ना आठवटी शक्तिका साथ मेरो कल्याण गर्नुहोस् । हे देवी चण्डिके ! अब हजुर आफ्नो धाममा जानुहोस् ।

कर्ताले देवीको मूर्तिलाई उठाउँदा–हे देवी ! हजुर वृद्धिका लागि नदीको जलमा जानुहोस् र त्यहीँ स्थिर भई विराजमान हुनुहोस् भनी मूर्ति उठाएर जलको समीपमा पुर्‍याई प्रार्थना गरी भन्नुपर्दछ – हे दुर्गा अम्बिका ! हे जगदम्बिका ! हामीहरूद्वारा पूजा गरिएकी हजुर एक संवत्सर अर्थात् वर्ष पूरा भएपछि फेरि यहाँ आउनका लागि आफ्नो घरमा जानुहोस् ।

हे देवी ! देवी आफ्नो शक्तिअनुसार मैले गरेको पूजा हाम्रै रक्षाका लागि स्वीकार गरी हजुर आफ्नो उत्तम धाममा जानुहोस् । यसरी निवेदन गरेपछि मूर्तिलाई जलमा प्रवाहित गराउनुपर्दछ ।

जलप्रवाहपछि घरमा गई ब्राह्मणहरूबाट शान्ति कलशका जलको अभिषेक लिएर ब्राह्मणभोजन गराई दक्षिणा प्रदान गर्नुपर्दछ ।

त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ ।

अनि घरका मूलमान्छेबाट भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद लिनुपर्दछ र बान्धवहरूका साथ भगवतीको प्रसाद ग्रहण गर्नुपर्दछ ।

दसैँका आशिषहरु ः

ॐ आयूद्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे

ऐश्वर्य नहुषे गतिश्च पवने मानं च दुर्योधने

दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे

यसको अर्थ

अश्वत्थामाको समान लामो आयु , राजा दशरथका समान ख्याति, राम चन्द्रका समान शत्रुलाई परास्त गर्ने क्षमता, राजा नहुषका समान ऐश्वर्य , वायुको समान वेग , दुर्योधनको जस्तै मान–सम्मान , सूर्य पुत्र कर्णका समान दानी ,बलरामका समान बलशाली , कुन्ती पुत्र युधिष्ठिरका समान सत्यवादी , विदुरका समान नीतिज्ञ र भगवान् नारायणका समान कीर्तिशाली बन्न सकियोस् ।

भद्रमस्ति शिवं चास्तु महालक्ष्मी प्रसीदतु

रक्षतु त्वां सदा देवा आशिषः सन्तु सर्वदा

अर्थ

कल्याण होस् , महालक्ष्मी प्रसन्न हुनुहोस् , देवताहरूले सधैँ रक्षा गरिरहुन् , सधैँ महापुरुषहरूको आशीर्वाद लागिरहोस् ।

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

जयन्ति, मङ्गला, काली ,भद्रकाली ,कपालिनी ,दुर्गा ,क्षमा , शिवा , धात्री , स्वाहा , स्वधा , नामले प्रसिद्ध तिमिलाई नमस्कार छ ।

जय त्वं देवी चामुन्डे जय भूतार्तिहारिणी

जय सर्वगते देवी कालरात्रि नमोऽस्तुते

देवी, चामुन्डे ! तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दुःख हरण गर्ने जगदम्बे ! तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी ! तिम्रो जय होस् हे कालरात्रि ! तिमिलाई नमस्कार छ ।

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके

शरण्येत्र्यम्बके गौरि नारायणी नमोऽस्तुते

सब मङ्गलमा माङ्गल्यरुप,कल्याण स्वरुपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने, तीन नेत्रवाली हे गौरी, नारायणी ! तिमीलाई नमस्कार छ ।