३-० को जितसहित अन्त्य गर्न चाहन्छौँः आसिफ शेख

काठमाडौं/ओपनर ब्याटर आसिफ शेखले वेस्ट इन्डिजसँगको शृंखला ‘क्लिन स्विप’सहित अन्त्य गर्ने चाहना रहेको बताएका छन् । नेपाली टिमले सोमबार यूएईमा भएको दोस्रो खेलमा ९० रनको सहज जित निकालेसँगै दुई पटकको विश्वकप विजेताविरुद्ध शृंखला अन्तिम खेलअगावै सुनिश्चित गरिसकेको छ ।

नेपालको जितमा अर्धशतकीय इनिङ्स खेलेका आसिफले सर्वाधिक ६८ रन बनाएका थिए । जितपछि आसिफले आफूसँगै अर्धशतक बनाएका सन्दीप जोरालाई श्रेय जानेसमेत बताए । जोराले ३९ बलमा तीन चौका र पाँच छक्कासहित ६३ रन बनाएका थिए ।

“हामीले सुरुमा विकेट हेर्दा यो १६० देखि १७० सम्म पुग्ने विकेट हो भन्ने महसुस गरेका थियौँ । हाम्रो योजना सुस्त सुरुआत गरे पनि साझेदारी बनाउने भन्ने थियो । श्रेय जोरा (सन्दीप) लाई दिनुपर्छ, उनले राम्रो ब्याटिङ गरे । हामीले दोस्रो खेलमै ठूलो सफलता हात पारेका छौँ । तेस्रो खेल पनि उत्कृष्ट प्रदर्शनसाथ समाप्त गर्न चाहन्छौँ । हामी तेस्रो खेल जितेर शृंखला ३–० को जितसहित अन्त्य गर्न चाहन्छौँ,” आसिफले भने ।

नेपाली क्रिकेटले इतिहासमै टेस्ट राष्ट्रविरुद्धको शृंखला जितेको यो पहिलोपटक हो । नेपाली टिमले आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध खेलेको पहिलो शृंखलामा नै जित निकालेको हो । दोस्रो जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुने तालिका छ ।