अष्टमी, नवमी र विजयादशमीका दिनको यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं/यो वर्ष बडादसैँको महाअष्टमी, महानवमी र टीकाका दिन देशका केही स्थानमा ‘हल्का’देखि ‘मध्यम’ वर्षाको पूर्वानुमान छ । दसैँ अवधिभर देशमा मनसुनी वायुको प्रभाव रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार (असोज ११) दसैँ विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ, “यस वर्षको दसैँको अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकोले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ ।”
महाशाखाका अनुसार, असोज १४ गते ९महाअष्टमी० वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस दिन कोसी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
“असोज १५ (नवमी) कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
महाशाखाका अनुसार, असोज १६ गते (विजयादशमी) वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस दिन कोसीका पहाडी र तराई भू–भागका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । टीकाका दिन मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालमा हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ । “नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनसुन बहिर्गमन हुने भएता पनि प्रत्येक वर्ष सो मिति भने फरक–फरक हुने गर्दछ,” महाशाखाले भनेको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।