तुइन खोलामा फेरी ठूलो पहिरो खस्यो, आज पहिरो हटाउन नसकिने, बैकल्पिक बाटो प्रयोग गर्न आग्रह
चितवन, असोज ७, चितवनको इच्छाकामना गाउँपालिका–५, स्थित तुइन खोलामा आज अपरान्ह पहिरो खस्दा नारायणघाट–मुग्लिन सडक खण्ड आज खुल्ने संभावना कमजोर बनेको छ । दिउँसो १ बजेदेखि नै अवरुद्ध बनेको यो सडक खण्ड अपरान्ह ५ बजेको समयमा झनै ठूलो पहिरो खसेपछि सडक आज खुल्ने संभावना कमजोर बनेको हो ।
निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिदा पहिरो पन्छाउन समेत समस्या सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यसैबीच चितवन प्रहरीले स–साना सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । आज पहिरो हटाउन संभव नभएको र पहिरो हटाउन करिब एक दिन लाग्न सक्ने भएकाले बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।
गत शुक्रबार साँझ साँझ पहिरो खस्दा करिव ४६ घण्टा यो सडक खण्ड बन्द भएको थियो । केही दिनयता स–साना पहिरो खस्ने क्रम रोकिएको थिएन । दिउँसोदेखि नै सडक बन्द हुँदा हजारौं यात्रु बाटोमै रोकिएका छन् । दशैंको बेला घर जाने यात्रुहरु मर्कामा परेका छन् ।