दुई दिनमा भ्रष्टहरूको पन्जाबाट देशलाई आजाद बनाउनुभयो, अब दुई वर्षमा जुरुक्क उठ्छः तोषिमा कार्की

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले जेनजीको आन्दोलनपछि मुलुक नयाँ मोडमा प्रवेश गरेको बताएकी छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नयाँ पुस्ताको योगदानलाई ऐतिहासिक बताएकी छन् । ‘कृपया यो विनाश, यो क्षतिको दोष नयाँ पुस्तालाई नलगाउनुस् । उनीहरूको अदम्य साहसबाट नै आज देश भ्रष्टहरूको चङ्गुलबाट मुक्त भएको छ । इतिहासले सधैं सम्झने यो क्रान्तिमा शहीद भएकाप्रति मेरो उच्च सम्मान र समर्पण छ,’ उनले लेखेकी छन ।

उनले आन्दोलनका क्रममा भएको क्षति र विनाशको दोष नव पुस्तामाथि होइन, बरू अघिल्ला दशकदेखि देशलाई लुट्ने भ्रष्ट नेतामाथि जानुपर्ने बताइन् । कार्कीले थपिन्, ‘अब नयाँ नेपालको नेतृत्वको जिम्मा, अन्तरिम सरकार गठन गर्ने जिम्मा र भावी सुनौलो नेपाल निर्माण गर्ने जिम्मा पूर्ण रूपमा नयाँ पुस्ताकै हो । कांग्रेस, एमाले, माओवादी, राप्रपा वा रास्वपामध्ये कुनै पनि दलले घुसपैठ र राजनीतिकरण नगर्नुहोस् । देशलाई विदेशी तत्वबाट पनि जोगाउनु छ ।’

उनले नव पुस्तालाई संयमित, सुरक्षित र जिम्मेवार भएर नेतृत्व लिन आग्रह गरेकी छन् । ‘जसरी २ दिनमा भ्रष्टहरूको पन्जाबाट देशलाई आजाद बनाउनुभयो, २ वर्षमा तपाईहरूको लगनशीलता, श्रृजनशिलता, श्रम, नवप्रवर्तन र देश प्रतिको शुद्ध प्रेमले मलाई विश्वास छ, यो देश उठ्छ जुरुक्क ।’