चितवनका निजी क्षेत्रको जेन-जीको पक्षमा
चितवन/चितवनका निजी क्षेत्रले जेन-जीको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन् । चितवन उद्योग वाणिज्य संघ, रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ र राप्ती उद्योग वाणिज्य संघले आज(मंगलबार) सयुक्त विज्ञप्ती जारीगरी आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका हुन् ।
नेपाल सरकारद्धारा हालसालै सामाजिक सञ्जाल र विभिन्न संचार प्लेटफर्महरू निषेध गरिएको विषय साथै भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखि जेन–जी युवा पुस्ताले हिजो मिति २०८२ भाद्र २३ गते आयोजना गरेको शान्तिपूर्ण विरोध ¥यालीमा भएको क्रुर दमनप्रति चितवनका निजी क्षेत्रको गम्भिर ध्यानाकर्षण भएकोछ, विज्ञप्तीमा उल्लेख गरिएको छ ।
निशस्त्र युवा विद्यार्थीहरू माथि यति ठूलो संख्यामा सुरक्षाकर्मीको गोली खाएर मर्नुपर्ने अवस्थाले नेपालको संकटपूर्ण अवस्थाको प्रतिबिम्बित गरेको बताइएको छ। सरकारको अकर्मण्यताका कारण ज्यान गुमाएका युवा विद्यार्थीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ विज्ञप्तीमा उल्लेख गरिएको छ । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, खैरहनी उद्योग वाणिज्य संघ अध्यक्ष कुमार खनाल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुकमार कँडेल विज्ञप्तीमा संयुक्त हस्ताक्षर गरेका छन् ।