जुटपानी चौकीको स्तरोन्नति गरी इलाका प्रहरी

चितवन/यहाँको कालिका नगरपालिका स्थित प्रहरी चौकी जुटपानीलाई स्तरोन्नति गरी इलाका प्रहरी कार्यालय बनाइएको छ । हाल प्रहरी सहायक निरिक्षकको दरबन्दी रहेकोमा आजदेखि प्रहरी निरीक्षकले काम सुरु गरेका छन् ।

सो इलाकाको प्रमुखमा प्रहरी निरीक्षक मनिस श्रेष्ठ खटाइएको छ । श्रेष्ठले कालिका नगरपालिकाको १३ वटा वडासहित इच्छाकामना गाउँपालिका–७ समेत कार्यक्षेत्र रहने जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार चौकीलाई प्रस्तावित इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको हो । सो कार्यालयमा अब कम्तीमा ३३ जना प्रहरी कर्मचारीको दरबन्दी हुनेछ ।

जिल्लामा अब सबै स्थानीय तहमा इलाका प्रहरी कार्यालय स्थापना भएका छन् । भरतपुर महानगरपालिकामा भने जिल्ला प्रहरी कार्यालयसँगै दुई वटा इलाका प्रहरी कार्यालय र एउटा वडा प्रहरी कार्यालय रहेको छ । एक अस्थायी प्रहरी चौकीसहित जिल्लामा हाल ७४ स्थानमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय छन् । जसमध्ये ३६ वटा अस्थायी प्रहरी कार्यालय रहेका छन् । रासस