Breaking News

१ अर्ब लगानीमा गोर्खामा मनकामना रिसोर्ट खुल्दै, दशैंदेखि सञ्चालनमा ल्याईने।

चितवन/कुरिनटार/गोरखाको प्रख्यात धार्मिकस्थल मनकामना मन्दिर नजिकै करिब १ अर्ब बढीको लगानीमा अत्याधुनिक सुबिधा सम्पन्न मनकामना रिट्रिट रिसोर्ट सञ्चालनमा आउने भएको छ ।

आगामी दशैंभित्रै सेवा सञ्चालन गर्ने गरी रिसोर्ट निर्माण सम्पन्न भइसकेको र सञ्चालनको निम्ती आवश्यक प्रबन्ध तयारी भैंरहेको मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय बहादुर मल्लले जानकारी दिनुभयो । रिसोर्ट निर्माण सम्पन्न गरी भित्री इन्टेरियर र साजसज्जाको काम भैरहेको अध्यक्ष मल्लले जानकारी दिनुभएको छ । अध्यक्ष मल्लका अनुसार रिसोर्टको इन्टेरियर डिजाइनको काम भारतीय कम्पनी आर्कोभले गरिरहेको छ ।

रिसोर्टको सबै व्यवस्थापनको जिम्मा सोल्टी वेस्ट्रन रिसोर्ट मनकामनाले गर्नेछ । एक टावर विल्डिङ र ६ वटा भिल्ला सहितको ५१ वटा कोठा रहेको रिसोर्टले एक रातमा ११० जनासम्म पाहुनालाई राख्न सक्ने अध्यक्ष मल्लले जानकारी दिनुभयो ।अध्यक्ष मल्लका अनुसार स्पा, फिटनेस क्लब, स्विमीङ पुल, इन्डोर ३ सय र आउटडोरसहित ५ सय जना क्षमताको बैंक्विट हल, रेस्टुरेन्ट लगायत सुविधा रिसोर्टमा रहनेछन्, आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरि रिसोर्टमा क्विन, किङ र प्रेसिडेन्सियल रुम हुनेछन् ।

यस्तै, ५६ जना क्षमताको रेष्टुरेण्ट पनि तयार पारिएको छ । १ सय रोपनी क्षेत्रफलमा ४ वर्ष अगाडि शुरु गरिएको रिसोर्ट सञ्चालनमा आउँदा ६० देखि ६५ जनाले रोजगारी पाउने र रिसोर्टमा स्थानीय उत्पादन र रोजगारीमा पनि स्थानीयलाई प्राथमिकता दिइने अध्यक्ष मल्लले जानकारी दिनुभयो । ‘यहाँ होटलहरू त छन् तर स्तरीय र सुविधा सम्पन्न रिसोर्टहरू भएनन्, ‘मनकामना दर्शन गर्न अघिल्लो रातमा आएर बस्ने तर अलिकति सुविधा खोज्ने र रकम तिर्न तयार हुने भक्तजन तथा पर्यटकहरू लाई लक्षित गरेर रिसोर्ट बनाएको हुँ । ’अध्यक्ष मल्लले भन्नुभयो।

मनकामना देशको राजधानी काठमाडौं, पोखरा र चितवनको बीच भाग भएकोले तथा देश कै एक एतिहासिक धार्मिकस्थल भएकाले पनि धार्मिक तथा पर्या पर्यटनको केन्द्रसमेत भएकोले पर्यटकहरुलाई २÷३ दिन बस्न समेत सुविधा होस् भनेर रिसोर्ट सञ्चालनमा ल्याउन लागेको अध्यक्ष मल्लले बताउनुभयो । मनकामना मन्दिरमा दर्शन गर्न आउने पर्यटकहरूलाई यहाँका स्थानीय उत्पादन खुवाउनेदेखि स्थानीय कला संस्कृतिहरू देखाउने उद्देश्यसमेत रहेकोले मौलिकतालाई उच्च प्राथमिकतामा राखिने अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

‘गुरूङ तथा मगर जातिको संस्कृति, इतिहासमा पहिलो सहिद लखन थापाको नाममा राखिएको गुफा, मनोरम त्रिशूली नदी, सुन्दर हिमालहरुको दृश्य, छिम्केश्वरी लगायतका डाँडाहरु यहाँबाट देख्न सकिन्छ, सुन्तला पनि उत्तिकै प्रख्यात छ’ यो ठाँउमा त्यस्तै, ‘सबैभन्दा महत्वपूर्ण कुरा त यहाँको सुन्दर र मिठास चिसो हावा र पानी नै हो, अनुभूति नै फरक गराइदिन्छ’ मनकामनालाई नगरकोट तथा धुलिखेलको विकल्पका रूपमा विकास गर्न चाहेको अध्यक्ष मल्लले बताउनुभयो ।