नारायणगढको क्षेत्रपुरमा रात्रिकालीन बजारको रौनक

चितवन/भरतपुर महानगरपालिका–२, क्षेत्रपुर, नारायणगढ बजारमा सञ्चालन हुने रात्रिकालीन बजार पछिल्लो समय सांस्कृतिक, व्यापारिक र पर्यटन गतिविधिको आकर्षण बन्दै गएको छ। साँझपख उज्यालो बत्ती र सङ्गीतले झकिझकाउ हुने यस बजारमा दैनिक सयौं नागरिकको भीड हुने गरेको छ।

उक्त बजारमा सांस्कृतिक प्रस्तुति, स्थानीय खानाका परिकार, हस्तकला, लुगा–कपडा, सजावटी सामग्रीदेखि विभिन्न दैनिक उपभोग्य वस्तुहरू समेत बिक्री वितरण गरिन्छ। विशेषगरी परिवारसहित घुम्न आउने स्थानीय र पर्यटकका लागि यो बजार आकर्षक गन्तव्य बनिरहेको छ।

व्यापारीहरूको भनाइमा रात्रिकालीन बजारले स्थानिय उत्पादन र व्यवसाय प्रवर्धनमा महत्वपूर्ण सहयोग पुगेको छ भने उपभोक्ताले सहज मुल्यमा सामान खरिद गर्न पाएका छन्। साथै, सांगीतिक र नृत्य प्रस्तुतीहरूले साँझको वातावरण झनै रमणीय बनाइदिन्छ।

स्थानीय सरकारले रात्रिकालीन बजारलाई व्यवस्थापन र प्रवद्र्धनका लागि थप सहजीकरण गर्ने तयारी गरेको जनाएको छ। विकास तथा पर्यटन पक्षबाट समेत यसलाई ‘नाइट मार्केट कल्चर’ को रूपमा अघि बढाउने योजना बनाइँदैछ।

मनोरञ्जन, व्यापार र स्थानीय पहिचानलाई जोड्ने गरी सञ्चालन गरिएको यो बजारले नारायणगढको सांस्कृतिक तथा साँझकालीन गतिविधिमा नयाँ उचाइ थपिदिएको स्थानीयको धारणा छ।