‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’

काठमाडौँ/श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा कृष्णहरि पुष्करले डिजिटल युगलाई आत्मसात गर्दै श्रम मन्त्रालय अघि बढेको बताउनुभएको छ । मन्त्रालयले नयाँ डिजिटल पद्धति थप्दै लगेको उहाँले बताउनुभयो ।

अब उप्रान्त समग्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रणाली प्रविधिमार्फत हुने सचिव डा पुष्करले जानकारी दिनुभयो । मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा उहाँले श्रमचक्रको समग्र प्रक्रियालाई डिजिटलाइजेसन ब्लुप्रिन्टले ध्यान दिएको उल्लेख गर्दै प्राथमिकतासाथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘स्वीस कन्ट्याक्ट’बाट श्रम संसार र रेमी परियोजनाबाट श्रम बजार सूचना प्रणालीको प्राविधिक दस्तावेजको कार्यान्वयनबाट ब्युरोक्रेसीलाई डिजिटलक्रेसीमा रुपान्तरण गर्न लागिएको उहाँको भनाइ थियो । सचिव डा पुष्करले डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीको विकास कार्यमा विकास साझेदार एसडिसी, स्वीस कन्ट्याक्ट र रेमी परियोजनाको योगदानबारे चर्चा गर्नुभयो ।

“मान्छे दौडिने नभइ प्रणाली दौडिनुपर्ने पद्धतिको विकास हुन लागेको छ । सिमित श्रोत र साधन हुँदाहुँदै श्रम संसारको प्रयोगलाई व्यापकता दिएका छौँ”, उहाँले भन्नुभयो । रासस