बालाजुस्थित गुरुनानक मठ क्षेत्रमा सरसफाइ

काठमाडौँ/काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजुस्थित ऐतिहासिक र धार्मिक महत्त्व बोकेको गुठी संस्थानअन्तर्गतको गुरुनानक मठ क्षेत्रको सरसफाइ गरिएको छ । उप्रेती समाजसेवा समितिको संयोजनमा गुरुनानक मठ क्षेत्रमा सफाइ गरिएको हो ।

यस स्थानमा करिब ४१८ वर्षअघि विसं १६६४ मा तीन जना महायोगीले जीवित भू–समाधि लिएको इतिहास रहेको छ । एकैदिन तीन जना योगीले समाधि लिएको दुर्लभ संयोग सोही स्थानमा भएकाले पनि उक्त मठको महत्त्व बढी भएको स्थानीय बताउँछन् ।

यहाँ समाधि लिनेमा गोथलराम दासजी, ब्रह्महरि दासजी र यथिराम दासजी हुनुहुन्थ्यो । महायोगी ब्रह्महरि दासजी महाराजको जन्म विसं १४३२ वैशाख पूर्णिमाका दिन पूर्वी नेपालको सोलुखुम्बुमा भएको मानिएको छ । कतिपयले उहाँको जन्म भोजपुरमा भएको दाबी पनि गरेका छन् । उहाँले विसं १६६४ मा २३२ वर्षको उमेरमा जीवित समाधि लिएको अभिलेखमा उल्लेख छ । उहाँले आफूसहित आफ्ना अन्य दुई जना शिष्यलाई पनि सँगै जीवित समाधिमा सहभागी गराउनुभएको थियो ।

महायोगी श्री यथिराम दासजी महाराजको जन्म विसं १५११ को शिवरात्रिका दिन भएको थियो । उहाँलाई केहीले कुइँकेल वंशमा र केहीले निरौला वंशमा जन्म भएको दाबी गरेका छन् । उहाँका बुबाको नाम मनोरथ उपाध्याय भएको अभिलेखमा उल्लेख छ । जीवित समाधि लिँदा उहाँ १५३ वर्षको हुनुहुन्थ्यो ।

जीवित समाधि लिने अर्का सिद्ध पुरुष महायोगी श्री गोथलराम दासजी महाराजको जन्म उप्रेती कुलमा भएको थियो । उहाँको जन्म विसं १५१७ को जनै पूर्णिमामा भएको थियो । उहाँले १४७ वर्षको उमेरमा जीवित समाधि लिनुभएको थियो । तीनै जना महायोगीले विसं १६६४ मा एकैदिन काठमान्डू बालाजुस्थित हालको नानक मठ क्षेत्रमा जीवित समाधि लिनुभएको अभिलेखमा उल्लेख गरिएको गुठी संस्थानले जनाएको छ ।

गोथलराम दासजी महाराज उप्रेती वंशमा जन्मिएकाले पनि उप्रेती समाजसेवा समितिले सो स्थानको सरसफाइ अभियान सञ्चालन गरेको समितिका अध्यक्ष सोभित उप्रेतीले बताउनुभयो । सरसफाइ कार्यक्रममा प्रहरीसहित विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो । रासस